कनकाई खबर / कोरोनाको कहरसँगै स्थानीय सरकारले पछिल्लो समयमा सहयोग गर्ने कार्यको स्वरुप परिवर्तन गरेको छ ।
कोरोनाको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउन थप हुँदै जाँदा समस्यामा परेका बिपन्न परिवारकालागि खाद्य सामाग्री लगायतका राहत वितरण गर्दै आएको स्थानीय सरकारले सहयोग गर्ने कार्यको स्वरुप परिवर्तन गरेको हो ।
जिल्लामै छुट्टै किसिमका गतिविधि गर्दै आएको झापाको कनकाई नगरपालिकाले राहत वितरण लक्षीत समुदाय सम्म पुग्न नसकेको महशुस गरी स्वरुप परिवर्तन जनाएको छ । यस अघि लकडाउनका कारण रोजगारी नभएर समस्यामा परेका परिवारलाई राहत स्वरुप चामल, दाल उपलब्ध गराउदै आएको कनकाई नगरपालिकाले तीन दिन यतादेखि नगरका टोल टोलमै दालभात खुवाउँन सुरु गरेको छ ।
सामाजिक दुरी कायम राख्दै स्थानीयलाई नै खाना पकाउने र बितरण गर्ने जिम्मेवारी दिँदै टोलमा खाना खुवाउन सुरु गरेको स्थानीय सरकार कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । एकै ठाउँमा विभिन्न परिवारका एक सय भन्दा बढीको उपस्थितीमा एकै परिवार बनेर खाना खाने गर्दा आँफूहरुलाई समेत सन्तुष्टी मिलेको कनकाई नगरका प्रमुख पोखरेलले बताएका छन ।
कनकाई नगरको वडा नं.८ स्थित बिरिङ् खोलाको किनार आसपासमा रहेका सुकुम्बासी टोलबाट सामुहिक खाना खुवाउँने कार्यको सुरुवात गरिएको हो । सामुहिक खाना खुवाउने कार्यलाई आवश्यक्ताअनुसार अन्य टोलमा समेत संचालन गरिने कनकाई नगर प्रमुख पोखरेलले बताएका छन ।
नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषबाट भात खुवाउन थालिएको वताइएको छ ।
चामल वितरण गर्दा भकारीमा धान हुने र समस्यामा नपरेकाले पनि राहत लिने गरेका कारण राहत वितरणमा समस्या देखा परेकाले वास्तविक पिडित भोक भोकै रहनु पर्ने अवस्था सिर्जना भएपछि टोल टोलमै दाल, भात खुवाउन सुरु गरिएको सम्बन्धित वडाका अध्यक्ष प्रेमबहादुर कटुवालले बताएका छन ।