
सुरुङ्गा \ पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि.को छैटौ वार्षिक साधारण सभावाट पुनः कुमारमणी पोखरेल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।
सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महा संघ प्रदेश नंं.१ का सदस्य लगायत विभिन्न धार्मिक,शैक्षिक एवम् सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेका एक कुशल सामाजिक अभियन्ता पोखरेल पृथ्वी सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । समयको महत्व र वातावरणको शुद्धताका लागि युवाहरुलाई सकारात्मक मार्गनिर्देश गर्दै आएका पोखरेलको नेतृत्वमा रहेका सवै संघ संस्थाका कार्यक्रमहरु निर्धारीत समयमा नै सुरु भइ सोही अनुसार सम्पन्न हुने गरेका छन् भने कार्यक्रममा खादा र व्याजको प्रयोगलाई निरुत्साहित गरीएको छ ।
चार वर्षे कार्यकालका लागि पुनः संस्थाको नेतृत्व सम्हाल्न पुगेका पोखरेलसँगै निवर्तमान कार्यसमितिका केही सदस्यहरुमा परिवर्तन भएपनि धेरै पदाधिकारी तथा सदस्यहरु पुनः सर्वसम्मत चयन भएका हुन् । यसरी सर्वसम्मत रुपमा चयन भएको समितिमा उपाध्यक्ष एल.पी. उप्रेती, सचिव शिवकुमार कडेल र सदस्यहरुमा क्रमशः जनक कार्की, जविन तिम्सिना,भिम भट्टराई, डिपी गौतम, त्रिलोचन चिमरीया, निर्मला चाम्लीङ् राई, सुजन केसी र विनिता मैनाली विमली रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा कमल कट्टेल र सदस्यहरुमा लुवराज उप्रेती र सुमन कार्की सर्वसम्मत चयन भएका छन् । संस्थाको आवश्यक्तालाई मध्यनजर गरेर समितिको वैठकले अन्य केही उपसमितिहरु समेत गठन गर्ने वताइएको छ । समितिको सर्वसम्मत नेतृत्व चयनका लागि टिकाप्रसाद कट्टेलको संयोजकत्वमा मीनाल तिम्सिना र सोमनाथ उप्रेती सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको थियो ।
साधारण सभाको अवसरमा संस्थामा कारोवार गर्दै आएका केही व्यवसायीहरुलाई सहकारी वर्ष उत्कृष्ट सदस्यका रुपमा सम्मान गरीएको छ ।

यसरी सम्मानित हुनेमा संस्थाको उत्कृष्ट वचतकर्ताका रुपमा रमुना भण्डारी र प्रल्हाद श्रेष्ठ, उत्कृष्ट ऋणीमा सुरेश ठाकुर र ईश्वर पोखरेल रहेका छन् । सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र संस्थाका अध्यक्ष पोखरेलले नगद सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।
संस्थाका अध्यक्ष कुमारमणी पोखरेलको सभापत्वि एवम् जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाका तर्फवाट भावि योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले सहकारीको माध्यमवाट स्थानीय पूँजीलाई स्थानीय स्तरमै परिचालन गरी समग्र आर्थिक पक्षको सुधार गर्ने लक्ष्यका साथ संस्था अघि बढेको वताएका छन् । संस्थाले स्थापनाकालदेखी नै सामाजिक गतिविधि र दायित्वलाई सम्वोधन गर्दै शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा संस्थाको हैसियत अनुसारको योगदान दिने कार्यलाई निरन्तरता दिँदै आएको वताइएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी ढकालले सहकारीहरुले शेयर सदस्यलाई उत्पादनमूलक एवम् व्यवसायीक वनाउँन सके मात्र लक्ष्य प्राप्ती हुने कुरामा जोड दिएका छन् । ग्रामिण क्षेत्रमा शेयर सदस्यहरुको विस्तार गरी विषादी रहित तरकारी, फलफूल तथा खाद्य सामग्री उत्पादन गर्न सहकारीले किसानहरुलाई प्रोत्साहन गर्नु पर्ने तर्फ ढकालको जोड थियो ।
संस्थाका उपाध्यक्ष एल.पी. उप्रेतीको स्वागत तथा सचिव शिवकुमार कडेंलले संचालन गरेको कार्यक्रममा दुर्गापुर साझा सहकारीका अध्यक्ष गोपाल उप्रेती, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा लगायतले मन्तव्य राखेका थिए ।