राम निरौला,
कनकाई खबर / अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल स्वतन्त्र जडान तथा मजदुर युनियन कनकाई नगर समितिका अध्यक्ष मनकुमार न्यौपाने (केशर)ले सम्पूर्ण मजदुर वर्गमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसका विषयमा सरकारले जारी गरेको सर्कुलर पालना गर्न अनुरोध गरेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको समय थप हुँदै गएपछि दैनिक जीवन कष्टकर बनेका निर्माण मजदुरहरु यति बेला सामाजिक दुरी कायम गर्दै काममा लागेका छन् । दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि विभिन्न चरणमा खाद्य सामाग्री वितरण गर्दै आएको सरकारले काम गर्ने मजदुरहरुकालागि वातावरण केही सहज बनाएपछि मजदुरहरु काममा लागेका हुन् ।
मजदुरहरुले सतर्कता अपनाएर काम गर्न थालेको भएपनि निर्माण कार्यमा आवश्यक पर्ने गिटी , बालुवा सहज ढङ्गले ढुवानी हुन नसक्दा कामले गति लिन नसकेको कनकाई नगरका मजदुर नाइके मनकुमार न्यौपाने (केशर) ले बताएका छन् । युनियन कनकाई नगर समितिका अध्यक्ष साथै नगरस्तरीय मजदुर हितकोषका सदस्य समेत रहेका न्यौपानेले खोला नदिका किनारवाट आयात हुने गिटी, बालुवाको ढुवानीकालागि स्थानीय सरकारले थप सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
अब कामकालागि वातावरण सहज हुने हो भने काम गरेर खाने मजदुरकालागि राहतको आवश्यक नपर्ने कुरामा न्यौपानेले जोड दिएका छन् । तर काम नपाएर बसेका मजदुरकालागि राहतको आवश्यक हुने भएकाले त्यस तर्फ स्थानीय सरकार गम्भीर हुनु पर्नेमा कनकाईका मजदुरनाइके न्यौपानेले कनकाई खबरलाई जानकारी दिएका छन् ।
कनकाई नगर क्षेत्रमा एक हजारको हाराहारीमा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरु रहेको भएपनि हाल सम्ममा चारसय साठी जना मात्र संगठित बनेर परिचय पत्र प्राप्त गरेको युनियनका नगर अध्यक्ष न्यौपानेले बताएका छन् । मजदुरका हकहितकालागि गठन गरिएको यस संगठनभित्र आवद्ध सदस्यहरुकालागि संस्थाको मुल्यांकन छुट्टै किसिमको हुने भएकाले जतिसक्दो चाँडो मजदुर युनियनको सदस्यता लिनकालागि समेत अध्यक्ष न्यौपानेले सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।
कोरोना भाइरसका कारण छिमेकी स्थानीय तहहरुमा संक्रमण बढेसँगै कनकाई नगर क्षेत्रमा समेत थप सतर्कता अपनाउँदै नगर क्षेत्रका मजदुरहरुको अवस्थाका बारेमा युनियनले इलाका प्रहरी कार्यालय सुरुङ्गाको सहयोगमा अनुगमन गरेको छ । अनुगमनवाट लकडाउन हुनु अघिदेखी नै नगर क्षेत्रमा काम गरेर बसेका ३० जना आप्रवासी मजदुरहरुको पहिचान गरी सामाजिक दुरी कायम गरेर आआफ्नो ठाउँमा निर्माणको कार्य सुचारु गर्न सुझाव दिएको बताइएको छ ।