शिवसताक्षी / शिवसताक्षी नगरको कोरोना राहत कोषमा यहाँको चौतारी बचत तथा ऋण सहकारी संस्थाले सोमबार २५ हजार नगद जम्मा गरेको छ ।
विपतका बेला स्थानीय सरकारलाई सहयोग पुग्ने हेतुले चौतारी साकोसले २५ हजार नगद जम्मा गरेको संस्थाका कोषाध्यक्ष मिलन राईले बताए । चौतारी साकोसका संस्थापक अध्यक्ष पवन राई, व्यवस्थापक विवेक राई र पाराबारी सेवाकेन्द्रकी व्यवस्थापक सोहिता घिमिरेले नगर प्रमुख चन्द्रकुमार सेर्मालाई नगद प्रदान गरेका हुन् ।
कोरोना संक्रमणको त्रासले मुलुक बन्दा बन्दी भएको १ महिना नाघेको छ । चौतारी सहकारीले पहिलो चरणको राहत शिवसताक्षी नगरपालिकालाई दिएको बताउदै मुलुकको अवस्था हेरेर दोश्रो पटकका लागि पनि राहत सहयोग गर्न तयार रहेको संस्थाका संस्थापक अध्यक्ष पवन राईले बताए ।
कोषमा रकम जम्मा गरेर विपतमा स्थानीय सरकारलाई सघाएकोमा पालिकाले दाताको मुल्याँकन गर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताएका छन् । उनले भने, ‘तपाईहरुले दिएको राहत रकम उचित ठाँउमा वास्तविक राहत पाउने परिवारको चुलो सम्म पुग्ने छ ।’
कार्यक्रममा शिवसताक्षी नगरपालिका स्तरीय राहत संकलन तथा व्यवस्थापन समितिका अध्यक्ष कुलवहादुर बस्नेतले सबैको सहयोगले विषम परिस्थितीको सामना गर्न सकिने बताए । ‘नगरबासीको साथ र सहयोगले कोरोना परास्त गर्न सकिन्छ,’ उनले भने ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (क)का सांसद झलकबहादुर दर्लामी मगर, नगरकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राइ, नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराई लगायत सामाजिक दुरी कायम राख्दै सहभागी थिए ।