
सुरुङ्गा \डिभिजन वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीलाई कनकाई नगरको सुरुङ्गामा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान जनक विदाई गरीएको छ ।कनकाई नगर क्षेत्रमा रहेका चारवटा सामुदायिक वनहरु कनकाई, जामुनवारी, प्रजापति र सुकेडाँगी सामुदायिक वनको संयुक्त आयोजनामा कनकाई सामुदायिक वनको सभा हलमा आइतवार विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
वि.सं.२०४४ सालदेखी निजामति कर्मचारीका रुपमा जागीरे जीवन सुरु गरेका डिभिजन वन कार्यालय झापाका प्रमुख सुवेदी २०७३ सालदेखी झापामा साविक जिल्ला वन कार्यालयको जिम्मेवारी सम्हाल्न आएका थिए । दुई वर्ष सम्म डिभिजन वन कार्यालय झापाको नेतृत्व सम्हाले यताको सुवेदीको कार्यकाल झापा जिल्लामा नै सन्तोषजनक रहेको भन्दै कनकाई नगर क्षेत्रका चारवटै सामुदायिक वनहरुले विदाई तथा सुवेदीले गरेका असल काम प्रति सम्मान जनाएका हुन् ।
कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापावाट विदाइ भएर ७ नंं.प्रदेश जान लागेका सुवेदीको पेशाप्रतिको समर्पण र सामुदायिक वनप्रति देखाएको सद्भाव र सहयोगको उच्च मुल्यांकन गर्दै सम्मान पत्रका साथै संयुक्त रुपमा चारवटा सामुदायिक वनका पदाधिकारी तथा सम्पूर्ण उपभोक्ताहरुको तर्फवाट सम्मान जनाइएको वताइएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका पूर्व उपसभापति देउकुमार थेवे, कनकाई र जामुनवारी सामुदायिक वनका संस्थापक अध्यक्ष केदार गिरी, कनकाई सामुदायिक वनका वर्तमान अध्यक्ष ख्याम ओली, जामुनवारी सामुदायिक वन एवम् सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष खेमराज सिटौला, सुकेडाँगी सामुदायिक वनका अध्यक्ष भक्तवहादुर पौडेल र प्रजापति सामुदायिक वनका अध्यक्ष सुर्यकुमार थापा लगायतले डिभिजन वन कार्यालय झापाका प्रमुख सुवेदीलाई सम्मान गरेका हुन् ।
जामुनवारी सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौलाले स्वागत तथा कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेलले संचालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष गिरी, निवर्तमान अध्यक्ष एवं कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, जामुनवारीका निवर्तमान अध्यक्ष एवम् वडा नं. २ का वडा अध्यक्ष परशुराम गिरी, वडा नं.४ का वडा अध्यक्ष गोविन्द पौडेल, कनकाईका सल्लाहकार भिष्म मैनाली, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला लगायतले सुवेदीको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।