राम निरौला
कनकाई खबर \ झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एकैदिन झापाका ६ वटा स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाका संचालक समितिका पदाधिकारी साथै सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा ६ वटै स्थानीय सरकारका प्रमुखको कार्यकक्षमै गएर सहाराले सहयोग गरेको हो । यसरी एकैदिन सहयोग पाउँने झापाका स्थानीय तहहरु बिर्तामोड नगरपालिका रु.१ लाख ७१ हजार, कनकाई, शिवसताक्षी, अर्जुनधारा,मेचीनगर नगरपालिकासहित प्रत्येकमा क्रमशःरु.१ लाख ११ हजारका दरले सहयोग गरेको छ भने बुद्वशान्ती गाउँपालिकामा रु.६१ हजार सहयोग रकम रहेको सहारा नेपाल(साकोस) सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा बस्नेतले जानकारी दिएकी छन् । संस्थाले दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि खाद्य सामाग्री उपलव्ध गराउँने उद्येश्यले स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप हाल सेवा क्षेत्रका स्थानीय तहलाई आर्थिक सहयोग गर्दै आएको सेवा केन्द्रकी प्रमुख बस्नेतले बताएकी छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि सरकारलाई सहयोग गर्ने उद्येश्यले स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा सहारा नेपालले आर्थिक सहयोग गरेको हो । आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा नगद सहयोग गर्दै आएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।
संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमूना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको कार्यकारी प्रमुख गिरी बताउँछन् । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ ।
सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख गिरीले जानकारी दिनुभएको छ । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको बताइएको छ ।
सहयोग रकम ग्रहण गर्दै स्थानीय सरकारका तर्फवाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले हरेक गतिविधीमा स्थानीय सरकारसँग जोडिएको सहारा नेपालले विपतको यो घडीमा विपन्न परिवारकालागि गरेको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट संस्था परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले सहारा नेपालको ‘दिन पुगोस, खान पुगोस’ भन्ने अभियानले सार्थकता पाएको आँफूले महसुस गर्दै आएको समेत बताएका छन् । कनकाई नगरमा भएको राहत वितरण कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, संस्थाका संचालक सदस्य पदम भट्टराई, सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्ग प्रसाई, सेवा केन्द्र प्रमुख गोमा बस्नेत, लक्ष्मीपुर सेवा केन्द्रका संयोजक केदार शम्सेर गिरी, सेवा केन्द्र लक्ष्मीपुरका प्रमुख उमेश भारती, शिवगञ्ज सेवा केन्द्र प्रमुख टिका प्रधान, सहयोग समिति सदस्य विनोद थपलिया, सदस्यद्वय चित्रकुमार र मैना तिवारी लगायतको उपस्थिती रहेको वताइएको छ ।