कनकाई खबर \ झापाको शिवसताक्षीमा सतासीधाम जेसीजद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारीमा रहेका परीक्षार्थीहरुकालागि अनलाइन कोचिङ् कक्षा संचालन भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस(कोभिड—१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै विद्यार्थीहरुलाई परीक्षा केन्द्रित बनाउँन अनलाइन कोचिङ् कक्षा संचालनमा ल्याइएको वताइएको छ । वर्तमान असहज परिस्थितीमा कोरोना भाइरसको न्युनिकरणकालागि विभिन्न सचेतनामूलक गतिविधि गर्दै आएको युवाहरुको संस्था सतासीधाम जेसीजले मुख्य विषयहरु गणित, विज्ञान र अंग्रेजी लगायतका विषयमा अनलाइन कोचिङ् कक्षा संचालनमा ल्याएको हो ।
बितेको यो तीन महिनाको अवधिमा विभिन्न संस्थागत र सामाजिक सचेतनामूलक गतिविधीहरु संचालन गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न सफल सतासीधाम जेसीजले आफ्ना पदाधिकारीहरु विचमा अनलाइन बैठक बसी विद्यार्थीहरुकालागि कोचिङ् कक्षा संचालनका साथै अन्य महत्वपूर्ण निर्णय गरेको सतासीधाम जेसीजका अध्यक्ष कुमारसिंह साँवा(लिम्बू) ले बताउँनुभएको छ । एसइइ परीक्षा संचालनको अघिल्लो दिन सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा कोरोनाको संक्रमण हुन नदिन सरकारले तत्काल परीक्षा स्थगन गर्ने निर्णय गरेपछि हाल सम्म पनि परीक्षा अनिश्चित बनेको हो । कोरोनाका कारण संक्रमणकालिन वर्तमान अवस्थामा विद्यार्थीहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्येश्यले कोचिङ् कक्षा संचालनमा ल्याइएको सतासीधाम जेसीजका अध्यक्ष साँवाले वताउँनुभएको छ ।
सतासीधाम जेसीजको अनलाइन बैठकले लकडाउनको पूर्ण रुपमा पालना गर्दै कोरोना भाइरससँग सम्वन्धित रहेर जेसीज अन्तरशाखा अनलाइन हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने निर्णय गरेको वताइएको छ । त्यस्तै कोरोनासँग सम्वन्धित सचेतनामूलक छोटो टिक टक भिडियो प्रतियोगिता समेत संचालन गर्ने जनाइएको छ । दुबै प्रतियोगिताका प्रतियोगिहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिने सतासीधाम जेसीजका महासचिव विवेक ढकालले बताउँनुभएको छ । लकडाउनको वर्तमान अवस्थामा सर्वसाधारणको जनजीवन थप सहज बनाउँदै कोरोना भाइरसको संक्रमणवाट जोगाउँन नेपल सरकारले चालेको अभियानमा सहयोग पुर्याउँने उद्येश्यले सचेतनामूलक कार्यक्रम संचालनको तयारीमा रहेको जेसीजका महासचिव ढकालले जानकारी दिनुभएको छ ।