कनकाई खबर \ कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगर क्षेत्रका दैनिक ज्यालादारी मजदुर र अति विपन्न परिवारलाई सहयोग गर्न बनाएको कोरोना विपत राहत कोषमा भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाले ५१ हजार रुपैँया सहयोग गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि स्थानीय सरकारले स्थापना गरेको कोषमा संस्थाको सामाजिक हितमा संचालित कोष मार्फत रकम उपलव्ध गराएको संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेतीले वताएका छन् । सहयोग रकमको चेक संस्थाको तर्फवाट अध्यक्ष उप्रेतीसहित उपाध्यक्ष यामनाथ सेड्याईँले नगरपालिकामै गएर नगर प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
यस अघि पनि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत संस्थाले महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ । सहयोग रकम ग्रहण गर्दै कनकाई नगरका प्रमुख पोखरेलले विपतको यो घडीमा दातावाट विपन्न परिवारकालागि हुन सक्ने सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट संस्था परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशन विनासर्त पालना गर्न सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेका छन् ।
वर्तमान अवस्थामा देखा परेको विपतीमा भगवती सहकारी संस्थाले उलव्ध गराएको नगदवाट विपन्न परिवारलाई महत्वपूर्ण सहयोग पुग्ने वताइएको छ । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताहरुले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताइएको छ ।