राम निरौला
कनकाई खबर \ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले कोरोना भाइरसको आशंकामा झापा र इलामका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई राहतस्वरुप आवश्यक खाद्य सामाग्री वितरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले मुलुकभरी नै लकडाउन गरेको अवस्थामा शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिरहेको वर्तमान असहज परिस्थितीमा सहारा नेपालले सरकारलाई सहयोग पुर्याउँने उद्येश्यका साथ खाद्य सामाग्री वितरणको कार्यलाई तिव्रताका साथ अघि बढाएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।
संस्थाका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत आफ्नो सेवा क्षेत्र प्रदेश नं. १ का ६ वटा जिल्लाका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण भइरहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
संस्थाको सेवा क्षेत्र झापा, इलाम, पाँचथर, उदयपुर, मोरङ्ग, सुनसरी मध्ये यो समाचार तयार पार्दा सम्ममा हाल झापाको कनकाई, मेची नगर, झापा गाउँपालिका र इलामको रोङ् गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनमा खाद्य सामाग्री वितरण भइसकेको वताइएको छ । संस्थाले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, चियारङ्ग, प्याज, खुर्सानी, बेसार लगायतका सामाग्री वितरण गरेको छ ।
इलामको रोङ् गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भएको खाद्य सामाग्री वितरण कार्यक्रममा संस्थाको तर्फबाट वरिष्ठ प्रवन्धक काशीनाथ नेपाल, उपप्रवन्धक तोयानाथ आचार्य, सहायक प्रवन्धक अरूण श्रेष्ठको उपस्थिती रहेको थियो भने गाउँपालिकाको तर्फवाट वडा नं.३ का वडाअध्यक्ष मात्रिका बराल, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य हरि बुढाथोकी, गाउँपालिका अध्यक्षका स्वकीय सचिव युद्धनारायण प्रधान लगायतको उपस्थिती रहेको संस्थाका कर्मचारी (सुपरिक्षक) के.पी. लुइटेलले जानकारी दिएका छन् ।

त्यसैगरी मेची नगरको धाइजनस्थित स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, मेची नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीनाकुमारी उप्रेती, विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रान्ती, संस्थाका वरिष्ठ प्रवन्धक द्वय मुकुन्दसेन कार्की र रामनारायण प्रधान लगायतको उपस्थितीमा खाद्य सामाग्री वितरण भएको संस्थाका सुपरिक्षक लुइटेलले वताए ।
त्यसै गरी झापा गाउँपालिकाको डिल्लीराज मावि, जनता मावि लगायतका स्थानमा रहेको क्वारेन्टाइनमा संस्थाको स्थानीय कुमरखोद सेवा केन्द्रका सहयोग समिति संयोजक जगन्नाथ राजवंशी, सदस्य माधव पोखरेल, कर्मचारी सन्तोषप्रसाद गणेश, शेरवहादुर कटुवाल, प्रहरी निरीक्षक सचिन प्रधान लगायतको उपस्थितीमा खाद्य सामाग्री वितरण भएको वताइएको छ ।
“कोरोना भाइरस स्रक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ सहारा नेपाल साकोसका कर्मचारी साथै स्थानीय सहयोग समितिका पदाधिकारीहरु कोरेन्टाइन स्थलमा नै गएर सामाग्री हस्तान्तरण गरेको साकोसका कर्मचारी लुइटेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।