राम निरौला
कनकाई खबर / झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेकालाई राहत स्वरुप २० लाख बराबरको खाद्य सामाग्री वितरण गर्ने कार्यको सुरुवात गरेको छ ।
संस्थाको सेवा क्षेत्र प्रदेश नं.१का ६ वटा जिल्ला झापा, इलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् । सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको संस्थाको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत हरेक जिल्लाको स्थानीय तहमा रहेका विपत व्यवस्थापन समितिको समन्वयमा खाद्यान्न वितरण गर्दै जाने कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
विपतको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत थोरै भएपनि सरकारलाई सहयोग गर्ने उद्येश्यका साथ संस्थाका कर्मचारीहरुले मानवीय सहायता कोष स्थापना गरेको वताइएको छ । सोही क्रममा झापाको कनकाई नगरपालिकाले व्यवस्थापन गरेको कनकाई १ स्थित दलित सामुदायिक भवन दुर्गापुरमा रहेको क्वारेन्टाइनमा साहाराले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, चियारङ्ग, प्याज, खुर्सानी,बेसार, ग्याँस सिलिण्डर लगायतका सामाग्री वितरण गरेको छ ।
“कोरोना भाइरस स्रक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ सहारा नेपाल साकोस अन्तर्गतको मानवीय सहायता कोषवाट खाद्य सामाग्री वितरण गरिएको साकोसका कर्मचारी के.पी. लुइटेलले वताएका छन् । कोरोना भाइरसको आशंकामा आफ्नो कार्य क्षेत्र कनकाईको दुर्गापुरस्थित कोरेन्टाइन स्थलमा नै गएर साकोसका कर्मचारीहरुले नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापक कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीलाई सामाग्री हस्तान्तरण गरेको साकोसका लुइटेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।
स्थानीय सरकारका प्रतिनिधी कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेलको रोहबरमा संस्थाका तर्फवाट वरिष्ठ प्रबन्धक राजकुमार दर्नाल, वरिष्ठ सहायक प्रबन्धक पवन मण्डल, सेवा केन्द्र ईलामका प्रमुख (सुपरिक्षक) केपी लुइटेलसहित सुरक्षाकर्मीको समेत उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।