राम निरौला /
कनकाई खबर \ कोरोना भाइरस संक्रमणबाट हुनसक्ने जोखिमको न्युनिकरण गर्न एक साताका लागि नेपाल सरकारले मुलुकभरी नै ‘लकडाउन’ गरेको छ ।
अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाएको सरकारको निर्देशनलाई पहिलो दिन कनकाईको सुरुङ्गा बजारमा अत्यावश्यकको नाममा बजारमा रहेका केही किराना पसल र सब्जी बजारमा भएको भिडभाडले सरकारको सर्कुलर विपरीत काम भएको पुष्टी गरेको छ । सधैं व्यस्त देखिने प्रमुख बजार क्षेत्रका चौकहरु लक डाउनका समयमा सुनसान भएपनि सुरुङ्गाको भित्री बजारमा रहेका व्यवसाय संचालन हुनुले व्यवसायीमा कोरोना भाइरसका विषयमा सचेतना कम भएको हुन सक्ने अनुमान गरिएको छ ।
मुलुकभरी नै भएको लकडाउनका कारण एकातर्फ दैनिक पेशा, व्यापार व्यवसायको क्षेत्र ठप्प भएको छ भने अर्का तर्फ कोरोनाको संक्रमणवाट हुने खतरा उस्तै छ । भिडभाडमा कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले व्यपार व्यवसाय बन्द गर्न सरकारले गरेको सर्कुलर अनुसार स्थानीय प्रहरीले गरेको आग्रहलाई समेत केही व्यवसायीले बेवास्ता गर्दै आफ्नो व्यापार संचालनमा ल्याएको संचारकर्मीको अनुगमनमा फेला परेको हो ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसका कारण मानव जीवनमा ठूलो क्षती भएको छ । जसका कारण विभिन्न व्यवसायमा लगानी भएको ठूलो रकम डुव्ने खतरामा पुगेको भन्दै स्थानीय होटल व्यवसायी ख्याम ओलीले चिन्ता व्यक्त गरेका छन् । होटल व्यवसाय लगायत अन्य विभिन्न व्यवसाय संचालनकालागि हरेक व्यवसायीले बैंकवाट लिएको ऋण तिर्न समेत धौ धौ पर्ने अवस्था आइसकेको भन्दै होटल डिलाइटका संचालक समेत रहेका ओलीले यस किसिमको महामारीको न्युनिकरणकालागि स्थानीयबासीले सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।