कनकाई खबर / विद्यालयलाई प्रविधिमैत्री बनाउँने योजनाअनुसार अघि बढेको चम्पापुर माविले विद्यालयमा सिसि क्यामेरा जडान गरेको छ ।
गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने उद्येश्यका साथ जडान गरिएको सिसि क्यामेरावाट विद्यालयको सुरक्षा, बाहिरी अनावश्यक होहल्ला साथै आसपासमा हुन सक्ने दुव्र्यसनीको नियन्त्रण हुनुका साथै विद्यार्थीहरुको हरेक गतिविधीका वारेमा जानकारी प्राप्त हुन सक्ने विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले वताएका छन् । पहिलो चरणमा जडान गरिएको ६ वटा सिसि क्यामेरा वडा कार्यालय कनकाई ६को अनुदानवाट प्राप्त भएको वताइएको छ ।
कनकाई नगरपालिकाको वडा नं. ६ मा रहेको यस विद्यालयले केही वर्ष अघिदेखि कम्प्युटर शिक्षा समेत संचालन गर्दै आएको वताइएको छ । कक्षा १० सम्म अध्ययनअध्यापन हुँदै आएको यस विद्यालयमा तल्लो कक्षाका नर्सरी र केजी साथै माथिल्लो तहमा कक्षा ६ देखि अंग्रेजी माध्यममा कक्षा संचालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक कोइरालाले वताए । आगामी शैक्षिक सत्रमा थप माथिल्लो कक्षाहरुमा समेत अंग्रेजी माध्यमलाई निरन्तरता दिँदै जाने योजना रहेको प्रधानाध्यापक कोइरालाले जानकारी दिएका छन् ।
क्रमिक रुपले विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन संचालन गर्नकालागि सहायक प्रधानाध्यापक रुद्रवहादुर थापाको नेतृत्वमा विद्यालयमा एक समिति क्रियाशिल रहेको वताइएको छ । समय सापेक्ष विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्येश्यका साथ स्थानीय अभिभावकहरुको समेत चाहानालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई पूर्ण रुपमा अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्नकालागि विद्यालय परिवार क्रियाशिल रहेको सहायक प्रधानाध्यापक एवम् विद्यालयका अंग्रेजी विभाग प्रमुख थापाले जानकारी दिएका छन् ।
आसपासका अन्य विद्यालयको तुलनामा चम्पापुर माविका विद्यार्थीहरुलाई हरेक प्रतिस्पर्धामा अब्बल बनाउँने लक्ष्यका साथ विद्यालयले नयाँ योजना बनाएर अघि बढेको सहायक प्रधानाध्यापक थापाले वताए । जसकालागि विद्यार्थी, अभिभावक र विद्यालयको सहकार्य हुनु जरुरी रहेको थापाको बुझाई छ ।