
विरेन्द्र न्यौपाने
भद्रपुर \ नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा भद्रपुरमा नगर स्तरीय दौड प्रतियोगीता हुने भएको छ ।भद्रपुर नगरपालिका वाड नं ८को आयोजनामा आगामी असोज २८ गते प्रतिस्पर्धात्मक दौड प्रतियोगीता हुन लागेको मंगलवार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बताइएको छ ।
दौड प्रतियोगीताका संयोजक तथा भद्रपुर नगरपालिका वाड नं. ८ का अध्यक्ष मनोज सुब्बा (गौरव ) ले दिएको जानकारी अनुसार नेपालकै पुरानो भद्रपुर नगरपालिकाको पहिचान देशैभरी फैलाउँदै सामाजिक काम गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गर्न लागिएको हो ।
विभिन्न दाताहरु तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग गरी प्रतियोगीताको आयोजना गर्न लागेको वताइएको छ । भद्रपर नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु तथा प्रत्येक वडाबाट २० \२० जनाका दरले करीव ८ सय जना भन्दा बढी महिला तथा पुरुषहरुको सहभागीता रहने प्रतियोगीतामा नेपाल आर्मी, पुलिस तथा नगर क्षेत्र भन्दा वाहिरका मानिसले भाग लिन नपाउँने व्यवस्था गरीएको छ ।
त्यसैगरी कार्यक्रममा जानकारी दिँदै सुव्बाले भद्रपुर ८ सगरमाथा चौकमा भेला भएका महिला तथा पुरुष प्रतियोगीहरुले सगरमाथा चौकवाट सुरु भएको दौडमा एस पि मोड हुदै ३ कि. मी. महिलाको दौड हुने छ भने पुरुषको ६.७ कि मी दौड हुने वताइएको छ । सहभागीहरुलाई विभिन्न संघ संस्थाहरुले हौसला प्रदान गर्ने वताइएको छ ।
प्रतियोगीतामा प्रथम हुने महिला तथा परुषहरुले २१ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पाउँने छन् । त्यसैगरी कार्यक्रममा भद्रपुर नगर क्षेत्रका ३ जनालाई नगद सहित सम्मान गर्ने वताइएको छ । यसरी सम्मानित हुनेहरुमा २ पटक सफलतापुर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अनिस लुईटेल , बक्सिङ खेलाडी सुरेन्द्र राई र बक्सिङ कोच डम्वर लिम्बू रहेका छन । उनीहरुलाई जनही ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिने बताइएको छ ।