कनकाई खबर \ रंगको पर्व होलीविशेष कार्यक्रम यस वर्ष झापामा सुनसान रहेको छ ।
विश्वभर फैलिरहेको कोरोना भइरस संक्रमणको त्रासकै कारण झापामा होलीको उल्लास न्युन रहेको हो । कोरोना भाइरसकै कारण भिडभाड हुँने कार्यक्रम नगर्न सरकारले सबैलाई अनुरोध गरेपछि सदा झैं उल्लासमय वातावरणमा मनाउँने गरीएको होली पर्व समेत प्रभावित बनेको हो । झापामा जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी निकाय, स्थानीय तहले जिल्लाबासीमा सतर्कताका लागि अपिल गरेका छन् ।
जसका कारण पनि जिल्लाका कुनैपनि ठाउँमा होली विशेष बृहत कार्यक्रम नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले वताएका छन् । प्रहरी प्रवक्ता श्रेष्ठले यस पटकको होलीको उल्लासमय वातावरण चोक बजार र सडक आसपासमा नभएको, गाउँघरमा र फाटफुट बजारमा सामान्य रुपमा रहेको जानकारी दिएका छन् ।
हरेक बर्ष होलीमा रंगिन बन्ने झापा मंगलवार सुनसान रह्यो । झापाको सदरमुकाम भद्रपुरसहित मुख्य बजार क्षेत्र धुलावारी, विर्तामोड, सुरुङ्गा, झिलझिले, दमक, गौरादह लगायतका बजारहरुमा अघिल्ला बर्षहरुमा धुमधामसँगले होली पर्व मनाउँने गरिएको भएपनि यस पटक कोरोना भाइरसकै कारण सचेतना जगाउँदै सरकारले सुचना जारी गरेपछि वातावरण सुनसान बनेको बताइएको छ ।
बजार क्षेत्रका चोक–चोकमा नाचगानसहित धुमधामका साथ होली मनाउँने गरिएको स्थानीयवासी बताउँछन् । सयौंको संख्यामा मानिसहरु चोक बजारमा निस्किएर हर्षोउल्लासपूर्वक होली पर्व मनाउँँने गर्दथे । होली पर्वका दिन अघिल्ला वर्षहरुमा धेरै सडक दुर्घटना हुने गर्दथ्यो । यसपटक कोरोना भाइरसकै कारण सुरक्षा निकायको समेत थप सक्रियता बढेकाले झापामा होली पर्व शान्तीपूर्ण रहेको बताइएको छ । मोटर साइकलमा हिँड्दा हेल्मेट नभएका, दुईजना भन्दा बढी चढेर मापसे गरी मोटर साइकल चलाएका केही व्यक्तिसहित मोटरसाइकल नियन्त्रणमा लिएको भएपनि बेलुका सम्ममा सम्पर्कमा आउँनेहरुलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिदिएको प्रहरीले जनाएको छ ।
