कनकाई खबर \ झापाको कनकाई नगरमा खेलकुदका क्षेत्रमा क्रियाशिल कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आइतवारदेखि पाँचौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
कनकाई माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरले पछि पार्दै सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाईको तर्फबाट कुसुम खतिवडाले ह्याट्रिक पूरा गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । खतिवडा खेलको म्यान अफ दी म्याच घोषित भइन् ।
उनलाई कनकाई महिला वातावरण संरक्षण समुहकी उपाध्यक्ष धनमाया चिमरियाले सौजन्य गरेको नगद सहितको ट्रफी चिमरियाकै हातवाट प्रदान गरीएको हो ।
आयोजककालागि सरिता सेर्पा र ममता राउतले थप दुई÷दुई गोल गर्दै आफ्नो टिमको खेललाई गहकिलो सावित गरेका थिए ।
खेलको प्रारम्भिक चरणदेखि नै कनकाई नगरपालिका तर्फका खेलाडीहरुले खेललाई आफ्नो नियन्त्रणमा पार्दै आएका थिए । जसका कारण कनकाईले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ४ गोल गर्न सफल भएको थियो ।

सोमवारको दोस्रो खेल पारिजात सालवारी र कचनकवल महिला फुटबल टिमविच हुने आयोजक समितिका सचिव विनोद रानाले बताएका छन् ।
प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका हुन् ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद ६० हजार र ३५ हजार साथै ट्रफी र प्रमाण पत्र पाउने खेल संयोजक अम्बिका खरेलले बताएकी छन् । प्रतियोगिताको अन्तर्राष्ट्रिय नारी दिवशका दिन फागुन २५ गते विविध कार्यक्रमका विच समापन गरिने आयोजक समितिले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा संचालन भएको उद्घाटन समारोहमा आयोजक समितिका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती , निर्वतमान अध्यक्ष दुर्गा प्रसाई , सुरुङ्गा जेसीज तथा लायन्स क्लव कनकाईका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया लगायत कनकाई नगर क्षेत्रका जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको वताइएको छ ।

कार्यक्रम संयोजक अम्बिका खरेलले स्वागत तथा सचिव विनोद रानाले संचालन गरेको उद्घाटन समारोहमा कनकाई नगरका प्रमुख पोखरेल, वडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, प्रतिष्ठानका सल्लाहकार एवम् वडासदस्य छवि थपलिया, कनकाई माविका प्रधानाध्यापक कर्णवहादुर डाँगी, रेडक्रस सुरुङ्गाकी उपसभापति कमला सुवेदी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिव कडेल, सल्लाहकार नारायण पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।