विर्तामोड । झापाको बिर्तामोडमा आज ‘अनलाइन पत्रकारिता अन्तर सम्वाद’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा अनलाइन पत्रकारितालाई व्यवस्थित, मर्यादित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यका साथ अन्तर सम्वाद कार्यक्रम आयोजना गरिएको हो ।
अन्तर सम्वाद कार्यक्रमको सञ्चारविद् भानुभक्त आचार्य र अनलाइन खबरका सम्पादक अरुण बरालले सहजीकरण गरेका थिए । सञ्चारविद् आचार्यले छिटो र लोकप्रिय हुने नाममा अनलाइन सञ्चारमाध्यममा विकृति बढ्दै गएको टिप्पणी गरे ।
‘अनलाइनमा ‘कपि पेस्ट’, स्रोत नखुलाउने, गलत समाचार सम्प्रेषण गर्ने लगायतका कारण विश्वास घटेको छ’, उनले भने, ‘अनलाइनलाई व्यवस्थित रुपमा नचलाउने हो भने अनलाइन पत्रकारिता नै धरापमा पर्न सक्छ ।’
त्यस्तै सम्पादक बरालले अनलाइन पत्रकारिता र चुनौतिका विषयमा प्रशिक्षण दिँदै निरन्तर रुपमा भएको साधनाले मात्र अनलाइन मिडियालाई लक्ष्यमा पुर्याउँन सकिने वताए ।
अनलाइन मिडियाका लागि झापा प्रशस्त सम्भावना बोकेको जिल्ला भएको बताउँदै अनलाइन खबरका सम्पादक बरालले कुनै पनि पत्रकारले विकृति र विसंगतिको भारी बोकेर हिड्न नहुने सुझाव दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले सूचना प्रविधिको युगमा अनलाइन सञ्चारमाध्यमलाई राम्रो, बलियो र मर्यादित बनाउन आवश्यक रहेको औँल्याएकी छन् ।
उपप्रमुख प्रसाईले चिठ्ठीको माध्यमबाट महिनौँपछि जानकारी पाउने अवस्थाबाट छिनभरमै सूचना पाउने युगमा हामी पुगिसकेको वर्तमान समयमा प्रविधिको विकाससँगै अनलाइन पत्रकारितालाई विश्वसनीय र व्यवस्थित बनाउन जरुरी रहेको वताएकी छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाईंले फलामको अक्षर जोडेर शुरु गरेको पत्रकारिताको क्षेत्रमा प्रविधिले ठूलो फड्को मारेको बताएका छन् । ‘हिजोको जस्तो अवस्था अहिले छैन’, उनले भने ‘प्रविधिको विकाससँगै पत्रकारहरु पनि प्रविधि अनुकूल बन्दै जानुपर्छ ।’
महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ उपाध्यक्ष एकराज गिरी, सञ्चालन केशव भट्टराई र कार्यक्रमको औचित्यमाथि सचिव सन्तोष आचार्यले प्रकाश पारेका थिए ।
झापामा ४७ वटा अनलाइन पत्रिका सञ्चालनमा रहेको वताइएको छ ।
