कनकाई खबर/ आफ्नो कामप्रति अगाध निष्ठा राख्ने र नगरका हजारौँ पशुपालक कृषकहरूको मनमस्तिष्कमा बस्न सफल भेटेरिनरी अधिकृत कुलबहादुर गुरुङको अथक मिहिनेतको स्थानीय सरकारले उच्च मूल्याङ्कन गरेको छ।

विगत २७ वर्षदेखि पशु स्वास्थ्य सेवामा अहोरात्र खटिएका गुरुङको आफ्नो पेसाप्रतिको समर्पण र इमान्दारितालाई कदर गर्दै कनकाई नगरपालिकाको सिफारीसमा भेटेरिनरी अधिकृत स्तर सातौं तहमा पदोन्नति ( बढुवा) भएका छन् । हालै एक विशेष कार्यक्रमको आयोजना गरी उनलाई सम्मानसहित अधिकृत स्तर सातौं तहमा पदोन्नति (बढुवा) गरिएको छ।
कार्यालयको प्रशासनिक व्यवस्थापनदेखि ग्रामीण क्षेत्रका गोठगोठसम्म पुगेर सेवा दिने उनको जनमुखी कार्यशैलीका कारण उनी नगरबासी माझ एक कुशल र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा स्थापित भएका छन्। जनताको गोठमै पुगेर पशुधनको रक्षा गर्ने एक सच्चा राष्ट्रसेवकका रूपमा चिनिएका गुरुङको यो पदोन्नतिले निष्ठापूर्वक काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुन्छ भन्ने बलियो नजिर बसालेको छ ।
कनकाई नगरपालिकाको सभा हलमा सम्पन्न विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गुरुङको प्रशंसामा कुनै कञ्जुस्याँई गरेनन्। मेयर पोखरेलले भने, “कुनै पनि सरकारी कर्मचारीका लागि कार्यकक्षको कुर्सीमा बस्नु मात्र कर्तव्य होइन, जनताको घरदैलोमा पुगेर सेवा दिनु वास्तविक राष्ट्रसेवा हो।”
कुलबहादुरले गत ८ वर्षदेखि कनकाईका कृषकहरूको गोठमै पुगेर जुन लोभलाग्दो सेवा दिएका छन् , त्यसले कनकाई नगरको शिर उच्च बनाएको छ । यही इमान्दारिता र अथक मिहिनेतकै कारण नगरपालिकाले उनलाई सम्मानसहित बढुवा गर्ने निर्णय गरेको हो। यो सम्मानले अन्य कर्मचारीहरूलाई पनि आफ्नो जिम्मेवारीप्रति थप जिम्मेवार बन्न प्रेरणा मिल्नेछ।
त्यस्तै, कार्यक्रममा नगर उपप्रमुख आशा सिवाकोटीले पनि भेटेरिनरी अधिकृत गुरुङको योगदान नगरको समृद्धि र कृषकको उन्नतिका लागि मेरुदण्ड सावित भएको बताइन्। उपमेयर सिवाकोटीले भनिन्, “पशु स्वास्थ्य र पशुपालन नगरको आर्थिक विकासको एउटा मुख्य आधार हो। कुलबहादुरले सुरु गरेको घरदैलो सेवा र खोप प्रमाणपत्र वितरणको नमुना अभ्यासले आज नगरका पशुपालक कृषकहरूमा ठूलो उत्साह जगाएको छ। उहाँ केवल एक प्राविधिक कर्मचारी मात्र हुनुहुन्न, आम कृषकका सुख–दुःखका सच्चा सारथि हुनुहुन्छ। चुनौतीपूर्ण पेसालाई पनि हाँसीहाँसी अँगालेर जनताको मन जित्न सफल एउटा कुशल कर्मचारीलाई सम्मान गर्न पाउँदा स्थानीय सरकारका तर्फबाट गौरवान्वित भएका छौँ।”
वि.सं. २०५६ सालदेखि पशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील कुलबहादुर गुरुङ विगत ८ वर्षदेखि कनकाई नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखामा कार्यरत छन्। उनी कार्यालयको प्रशासनिक घेराभित्र मात्र सीमित रहने कर्मचारी होइनन्। उनकै दुरदर्शी सोच र सक्रियताका कारण कनकाई नगरपालिकाले विगत ८ वर्षदेखि देशमै नमुना मानिएको “खोप प्रमाणपत्र वितरणको कार्यलाई अघि बढाएको छ।
पशुहरूलाई विभिन्न रोगविरुद्धको खोप लगाएपछि प्रदान गरिने यस प्रमाणपत्रले स्थानीयस्तरमा पशु बीमा गर्ने प्रक्रियालाई थप सहज बनाएको छ। यसका साथै, नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि वार्षिक रूपमा बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियानको सफल नेतृत्व पनि गुरुङले नै गर्दै आएका छन्, जसले जनस्वास्थ्यको क्षेत्रमा समेत ठूलो योगदान पु¥याएको बताइएको छ ।
नगरपालिकाको तर्फबाट भएको यो उच्च मूल्याङ्कन, सम्मान र बढुवाले भावुक र उत्साहित बनेका गुरुङले चुनौती र अवसरलाई सँगसँगै डो¥याउँदै तीन दशक लामो यात्रा तय गरेको बताए। उनले भने, ” सबै वर्गका कृषक, दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट भइरहने र पशुपंक्षीको सेवामा रमाउन पाउँदा २७ वर्ष बितेको पत्तो नै भएन।”
नगरपालिकाले मेरो कामको मूल्याङ्कन गरेर जुन सम्मान र बढुवा गरेको छ, यसले मलाई जनताको सेवामा अझ बढी जिम्मेवार भएर लाग्ने ऊर्जा दिएको छ। गोठदेखि गरिमासम्मको यात्रा तय गरेका गुरुङको यो सफलता सम्पूर्ण कर्मचारी संयन्त्र र युवा पुस्ताका लागिसमेत प्रेरणाको स्रोत बनेको छ।

