कनकाई खबर / पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसारले कनकाई नगर अस्पताललाई १० थान फर्निचर -बस्ने बेन्च) उपलब्ध गराएको छ। नगर अस्पताल परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच करिब १ लाख ५० हजार रुपैयाँ बराबरको उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरीसहित वन समूहका पदाधिकारीहरूको उपस्थितिमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई सो फर्निचर सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा कुरुवाहरूलाई बस्न सहज होस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको वन समूहले जनाएको छ /
सामग्री बुझ्दै नगर प्रमुख पोखरेलले जामुनबारी सामुदायिक वनले पर्या–पर्यटनसँगै मानवीय सेवामा पु¥याएको योगदानको प्रशंसा गरे । यस्तै, वन समूहका प्रतिनिधिहरूले मानवीय सेवासँग जोडिएको नगर अस्पताल जतिबेला जोसुकैलाई पनि आवश्यक पर्ने साझा संस्था भएकाले यसको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
प्राकृतिक स्रोतको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक रूपमा सबल बनेको जामुनखाडी सिमसारले स्थानीय शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा निरन्तर सहयोग पु¥याउँदै आएको वन समूहका अध्यक्ष गिरी बताउँछन् ।
कनकाई नगर अस्पतालका उपाध्यक्ष समेत रहेका कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रममा कनकाई ३ का वडासदस्य एवं अस्पतालका सदस्य अनिल गोयल, सदस्य कविता बस्नेत , अस्पतालका प्रमुख अमृत पोखरेल सहित नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर अस्पतालका स्वास्थ्यकर्मी खगेन्द्र दंगालले गरेका थिए ।

