झापामा ६६ प्रतिशत लक्ष्य पूरा
कनकाई खबर / स्वास्थ्य कार्यालय झापाद्वारा सञ्चालित जापानी इन्सेफलाइटिस (जेई) विरुद्धको विशेष खोप अभियानमा जिल्लाभरि समग्रमा ६६.५० प्रतिशत प्रगति हासिल भएको छ।
असोज ५ देखि १४ गते सम्म सञ्चालित १० दिने अभियानमा झापाका कुल ४,९३,३१९ लक्षित जनसंख्यामध्ये ३,२८,०५३ जनाले खोप लगाएका छन्। जिल्लाका १५ पालिकाहरूमध्ये कनकाई नगरपालिकाले औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ७३ प्रतिशत लक्ष्य पूरा गरेर जिल्लाभरिमै चौथो स्थान हासिल गर्न सफल भएको छ। कन्काईमा २६,२४७ को लक्षित संख्यामध्ये १९,१५३ जना (११,२३ ४) महिला र ७,९१९ पुरुष) ले खोप लगाएका छन्।

कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारीका अनुसार नगरका कुल ९ वटा वडाहरूमध्ये वडा नम्बर २ ले सबैभन्दा उत्कृष्ट नतिजा देखाउँदै २,४६० को लक्ष्यमा ८४.७० प्रतिशत (२,०८३ जना) लाई खोप लगाएको छ।
यसैगरी वडा नं. ६ मा ८२.८० प्रतिशत (१,०८३ जना) ले खोप लिएका छन् भने वडा नं. ३ मा ७७.१० प्रतिशत (५,०३७ जना), वडा नं. ८ मा ७६.७० प्रतिशत (२,०४३ जना), वडा नं. ९ मा ७१.९० प्रतिशत (१,२८७ जना), वडा नं. ५ मा ६८.१० प्रतिशत (२,१४० जना), वडा नं. ७ मा ६८.५० प्रतिशत (१,५३३ जना) र वडा नं. १ मा ६६.८० प्रतिशत (१,६३४ जना) प्रगति भएको छ।
नगरभित्र सबैभन्दा कम प्रगति वडा नं. ४ मा ६३.१० प्रतिशत (२,३१३ जना) मात्र दर्ता भएको जनाइएको छ। उमेर समूहका आधारमा हेर्दा नगरका ३० देखि ६० वर्ष उमेर समूहका १४,१५५ जना र ६० वर्षभन्दा माथिका ४,९९८ जना ज्येष्ठ नागरिकले खोप सेवा लिएका छन्।
जिल्लाभरिको विस्तृत विवरण अनुसार प्रतिशत कभरेजमा गौरीगञ्ज गाउँपालिका ७५.५ प्रतिशत प्रगतिका साथ जिल्लाभरिमै पहिलो स्थानमा छ भने हल्दीबारी गाउँपालिका ७४.७ प्रतिशतसहित दोस्रो र झापा गाउँपालिका ७३.२ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्।
यी तीन गाउँपालिकाहरूपछि चौथो स्थानमा समेटिएको कनकाई (७३प्रतिशत ) ले जिल्लाका अन्य ठूला र सुगम नगरपालिकाहरूलाई समेत पछि पारेको छ। कनकाईभन्दा पछि क्रमशः बाह्रदशी गाउँपालिकाले ७१.१ प्रतिशत, मेचीनगर र कचनकवलले समान ७०.७ प्रतिशत, गौरादहले ६९.२ प्रतिशत, कमल गाउँपालिकाले ६७.६ प्रतिशत तथा बिर्तामोड नगरपालिकाले ६७.२ प्रतिशत लक्ष्य पूरा गरेका छन्।
त्यस्तै, बुद्धशान्ति र दमक नगरपालिकाले समान ६६.३ प्रतिशत, शिवसताक्षीले ६२.७ प्रतिशत र अर्जुनधाराले ५८.२ प्रतिशत प्रगति गर्दा भद्रपुर नगरपालिका ४७.१ प्रतिशत कभरेजका साथ जिल्लाकै सबैभन्दा पछाडि देखिएको छ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो घातक रोगविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल पार्न स्वास्थ्य कार्यालय झापा र कनकाई नगरपालिकाले कम कभरेज भएका क्षेत्रहरूमा आगामी दिनमा थप स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।

