कनकाई खबर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै झापा निर्वाचन क्षेत्र नं. ४ मा राजनीतिक चहलपहल निकै चुलिएको छ।
आगामी असोज १३ गते हुने क्षेत्रीय तथा प्रदेश अधिवेशनका लागि झापा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापति पदमा जुझारु युवा नेता एवं प्रखर सामाजिक व्यक्तित्व शिवकुमार कडेलले आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्।
“राजनीति पेसा वा व्यवसाय होइन, यो विशुद्ध मानवीय सेवा हो” भन्ने दृढ संकल्प बोकेका कडेलले गुट उपगुटभन्दा माथि उठेर पार्टी संगठनलाई जगैदेखि सुदृढ र कार्यकर्तामैत्री बनाउने स्पष्ट मार्गचित्र ( भिजन) सहित मैदानमा उत्रिएपछि यस क्षेत्रको कांग्रेस राजनीतिमा नयाँ उत्साह र तरंग पैदा भएको छ।
ग्रामिण क्षेत्रमा हुर्किएको भुइँमान्छेको छोरोः निष्कलङक छवि र जनस्तरको पकड भएको, झापाको दक्षिणी ग्रामीण भेग झापा गाउँपालिकाको माटोमा जन्मिएर त्यहीँको भुइँतहको राजनीति बुझ्दै हुर्किएका कडेल एक मिहिनेती र अत्यन्तै इमान्दार कृषकका छोरा हुन्।
हाल कनकाईको सुरुङ्गालाई आफ्नो मुख्य कर्मथलो बनाएका उनले समग्र झापाको राजनीतिक उतारचढाव र संगठनको अवस्थालाई निकै मसिनो गरी अध्ययन र विश्लेषण गर्दै आएका छन्। महामानव बिपी कोइरालाको चिन्तन र प्रेरणाबाट प्रभावित भई विद्यालय तथा क्याम्पस जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय राजनीतिमा होमिएका कडेलको परिचय सामाजिक क्षेत्रमा समेत निकै उच्च छ।
अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त सामाजिक संस्थाहरू सुरुङ्गा जेसीज र रोटरी क्लव अफ सुरुङ्गाको सफल नेतृत्व सम्हालिसकेका कडेलको कुशल संगठकीय क्षमता र निष्कलङक छविका कारण उनी यस क्षेत्रमा साझा र लोकप्रिय नेता मानिन्छन्। केन्द्रसम्मको बलियो पहुँच र परिपक्व समन्वय, स्थानीय स्तरमा बलियो पकड र संगठनमा लामो योगदान पु¥याएका कडेलको नेपाली कांग्रेसको केन्द्रीय तहको नेतृत्वसँग समेत निकै राम्रो र परिपक्व सहकार्य रहँदै आएको छ।
स्थानीय कार्यकर्ताका भावना र भुइँतहको आवाजलाई केन्द्रसम्म सिधै पु¥याउन र राष्ट्रिय राजनीतिसँग झापा क्षेत्र नं. ४लाई जोड्न उनी सबैभन्दा उपयुक्त र शक्तिशाली उम्मेदवारका रूपमा देखिएका छन्। गुटगत राजनीतिको अन्त्य गर्दै संगठनलाई थप चलायमान र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको कडेलको दाबी छ।
सुदृढीकरण र चुनावी विजयका प्राथमिकताहरू विधिसम्मत रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका नेता कडेलले पार्टी संगठनलाई थप चलायमान बनाउन आफ्ना स्पष्ट कार्ययोजनाहरू अगाडि सारेका छन्। उनले पार्टी संगठनलाई टोल र वडा तहसम्मै थप सक्रिय र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्। सबै तहका पुराना, त्यागी तथा नयाँ साथीहरूको अमूल्य सुझाव र सहभागितालाई उच्च महत्व दिँदै युवाहरूको भूमिका सुनिश्चित गर्ने र उनीहरूको नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उनको योजना छ।
पार्टीभित्र स्वस्थ संवाद, पारस्परिक सम्मान, सहकार्य र पारदर्शितालाई पहिलो सर्त बनाउने बताउँदै कडेलले जनताका दैनिक सुख–दुःखमा पार्टीलाई सीधा जोडेर ‘जनताको कांग्रेस’ स्थापित गर्ने संकल्प गरेका छन्। यसका साथै, आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनहरूमा झापा क्षेत्र नं. ४ मा कांग्रेसको पक्षमा शतप्रतिशत परिणाम हासिल गर्न केन्द्र, प्रदेश र जिल्ला नेतृत्वसँग प्रभावकारी समन्वय गरी विशेष अभियान र रणनीतिक कार्यक्रमहरू संचालन गर्ने उनी बताउँछन्।
‘मन र मत’ का लागि क्षेत्रीय प्रतिनिधिहरूसँग अपिल – “लोकतान्त्रिक अभ्यासमा सहमति र सहकार्य मेरो पहिलो प्राथमिकता हो, तर स्वस्थ प्रतिस्पर्धा र संगठनको हितलाई केन्द्रमा राख्दै म तपाईँहरूको बीचमा आएको छु,” उम्मेदवार कडेलले प्रतिबद्धता जनाउँदै भने, ” मेरा विगतका काम, सामाजिक अनुभव, निष्ठा र केन्द्रीय नेतृत्वसँगको सहकार्यको आधारमा मलाई मूल्यांकन गरिदिनुहुन सम्पूर्ण गाउँ, नगर र वडा सभापतिहरू तथा क्षेत्रीय प्रतिनिधि साथीहरूमा हार्दिक अनुरोध गर्दछ।” उनले आगामी अधिवेशनको निर्वाचन प्रक्रियालाई सहज, सरल र मैत्रीपूर्ण बनाउन आग्रह गर्दै आफ्नो अमुल्य ‘मन र मत’ प्रदान गरेर विजयी गराउन सम्पूर्ण मतदाताहरूसँग सादर अपिल गरेका छन्।

