कनकाई खबर /झापाको सुरुङ्गामा साना तथा मझौला उद्योगहरूको व्यवसायिक विकास र क्षमता अभिवृद्धिका लागि आयोजित व्यवसाय विकास सेवा प्रदायक – बिडिएसपी- तालिम भव्य रूपमा सम्पन्न भएको छ।

कनकाई उद्योग वाणिज्य संघको आयोजना, उदय परियोजनाको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको प्रवद्र्धनमा कार्यक्रम सम्पन्न भएको हो। स्थानीयस्तरका ६० जना महिला उद्यमीसहित ८० जनाभन्दा बढी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्कीले गरेका थिए भने प्रमुख आतिथ्य कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख शिवाकोटीले उद्योग वाणिज्य संघले उद्यमीहरूको क्षमता विकास र व्यावसायिक जवाफदेहिता बढाउन खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।
महिलाहरूमा स्वाभिमान भए पनि आर्थिक स्वतन्त्रता अझै सङ्कुचित रहेको भन्दै उपप्रमुख शिवाकोटीले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म समाजको वास्तविक रूपान्तरण सम्भव नहुने बताएकी छन् । तालिमले उद्यमीहरूलाई आफ्नो पेसा एवं व्यवसायमा थप निखारता ल्याउन, बजारका चुनौतीहरू सामना गर्न र आर्थिक रूपमा पूर्ण आत्मनिर्भर बन्न ठूलो मद्दत पु¥याउँने कुरामा उपप्रमुख शिवाकोटीले जोड दिएकी छन् ।

कार्यक्रमका अध्यक्ष एवं कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्कीले समापन मन्तव्य राख्दै स्थानीय उद्यमशीलताको विकास नै नगरको समृद्धिको आधार भएको बताए । अध्यक्ष कार्कीले भने, – “हाम्रा साना तथा मझौला उद्योगहरूलाई आधुनिक प्रविधि र बजारसँग जोड्न यो तालिम कोशेढुङ्गा सावित हुनेछ। उद्योग वाणिज्य संघ स्थानीय व्यवसायीहरूको व्यवसायिक सुरक्षा, क्षमता विकास र बजार प्रवद्र्धनका लागि सधैं प्रतिबद्ध छ। तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर आफ्ना उद्योगलाई थप उचाइमा पु¥याउन म सम्पूर्ण सहभागीहरूलाई आग्रह गर्दछु।”
कार्यक्रममा उदय परियोजनाका बिडिएसपी सेवा अधिकृत राज उप्रेतीले परियोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले व्यवसायीहरूको व्यावसायिक विकासमा सहजीकरण गर्दै उद्यममार्फत आत्मनिर्भर बन्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै परियोजनाको मुख्य लक्ष्य रहेको बताए ।
यसैगरी, व्यवसाय विकास सेवा प्रदायक संस्था संकल्प एग्रोटेक प्रा.लि.का प्रबन्ध निर्देशक सुरेश रेग्मीले व्यवसायीहरूको सहजताका लागि संस्थाले डिजिटल सेवा, वित्तीय सहजीकरण, कानुनी परामर्श र कृषि तथा कृषिजन्य वस्तुको विविधीकरण सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको जानकारी दिए ।
कनकाई उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संघको महिला उद्यमी उपसमिति संयोजक शान्ता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा कनकाई वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, कार्यपालिका सदस्य कृष्णमाया भुजेल र कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला लगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । सहभागीका तर्फबाट उद्यमी महिला रुपा मैनालीले तालिम फलदायी रहेको भन्दै आफ्नो कार्यअनुभव र अनुभूति मन्तव्य राखेकी थिइन् ।

