मनसादेवी पूजामा बंगाली समाजको भव्य उत्सव
कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रमा सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय बंगाली समाज सेवा समिति कनकाईले मनसादेवीको विशेष पूजाअर्चनासहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कनकाई–३ सुरुङ्गास्थित कालिस्थान टोलमा आयोजित कार्यक्रममा बंगाली समुदायका महिला, पुरुष तथा बालबालिका आफ्ना मौलिक भेषभूषामा सजिएर सहभागी भएका थिए। धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रममा कनकाई माइ नदीसम्मको विशेष कलशयात्रा समेत निकालिएको थियो।

कलशयात्राका क्रममा कनकाई माइ नदीबाट ल्याइएको शुद्ध जल विधिपूर्वक मनसादेवीको मन्दिरमा अर्पण गरिएको समाजका अध्यक्ष पंकज मण्डलले जानकारी दिए। बंगाली समुदायको मौलिक, धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले हरेक वर्ष आयोजना गरिँदै आएको मनसादेवी पूजा यसपटक पनि उत्साह र उल्लासका साथ सम्पन्न भएको उनले बताए।
बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा शङ्कराचार्यपीठ साधुटारका व्यासाचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडा प्रमुख अतिथि रहेका थिए। समाजका सचिव रविन मण्डलले सञ्चालन गरेको कार्यक्रममा बंगाली समुदायका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गर्दै अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए।
यस वर्षको मनसादेवी पूजा धार्मिक तथा सांस्कृतिक कार्यक्रममै सीमित नभई सामाजिक सेवाको भावनासमेत जोडिएको कार्यक्रम बनेको आयोजकले जनाएको छ। केही दिनअघि भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाएका नागरिकको चिरशान्तिको कामना गर्दै समाजले पूजा खर्चमा कटौती गरेर बाढीपीडित तथा प्रभावित नागरिकका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
समाजका उपाध्यक्ष दिगम मण्डलका अनुसार अघिल्ला वर्षको तुलनामा यसपटक खर्चिलो मानिने डिजे तथा बाजागाजामा समेत कटौती गरिएको छ। बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले पूजा स्थलमा दान पेटिका राखिनुका साथै सरकारको राहतका लागि सहयोग गर्न चाहनेहरूका लागि सरकारको क्यूआर कोडसमेत राखिएको उनले जानकारी दिए। धार्मिक आस्थासँगै विपद्मा परेका नागरिकप्रति सहयोगको भावना प्रस्तुत गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको समाजले जनाएको छ।

कार्यक्रममा बंगाली समुदायको महिला उपसमितिले मौलिक बंगाली नृत्य प्रस्तुत गरेको थियो। साना बालबालिकाहरूले समेत आफ्नै परम्परागत भेषभूषामा सजिएर विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। स्थानीय स्तरका विद्यालयका विद्यार्थीहरूले समेत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रममा झापा जिल्लाबाहिरबाट समेत बंगाली समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी अतिथि तथा समुदायका अगुवाहरूले बंगाली समाजले आफ्नो संस्कार, संस्कृति र परम्पराको संरक्षणमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए। नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
मनसादेवी पूजा तथा विशेष सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री, खीर, पुरी, सब्जी, अचार, पिउने पानीलगायत प्रसाद तथा खाद्य सामग्रीको विशेष सहयोग हाल अष्ट्रेलियामा रहेका स्थानीय समाजसेवी गोविन्द शाहका नाती तथा जन्मजय र सुमित्रा शाहका छोरा प्रितम शाहले प्रायोजन गरेको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि व्यासाचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी भएको उल्लेख गर्दै सबै समुदायले आ–आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको संरक्षण गर्दै एकअर्काको सम्मान गर्नुपर्नेमा जोड दिए। यस क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएको बंगाली समाजले आफ्नो संस्कार तथा संस्कृति संरक्षणका लागि देखाएको सक्रियता अन्य समुदायका लागि समेत प्रेरणादायी रहेको उनले बताए।
प्रमुख अतिथि खतिवडाले हालै भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते तथा घरबारविहीन नागरिकको स्वास्थ्योपचार र सहयोगका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले माँ मनसादेवीले सम्पूर्ण नेपालीमा एकता, सद्भाव, भाइचारा र सहकार्यका साथ अघि बढ्ने शक्ति प्रदान गरून् भन्ने शुभकामना व्यक्त गरे।
बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई मनसादेवीको विशेष पर्वका रूपमा मनाउँदै आएको छ। बंगाली परम्पराअनुसार चतुर्थी तिथिदेखि षष्ठी तिथिसम्म तीन दिन विशेष पूजाअर्चना, धार्मिक विधि तथा सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाउने गरिन्छ। बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलका अनुसार भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठीमा मनाइने यो पर्व बंगाली समुदायका लागि विशेष महत्वको पर्व हो।
माता मनसादेवीको विशेष पूजाअर्चना गरेमा दुःख, कष्ट तथा संकट नाश हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको मण्डलले बताए। पञ्चमीका दिन हुने विशेष पूजाका लागि एक दिनअघि चतुर्थीबाटै व्रत बस्ने चलन रहेको छ। यस पर्वमा महिला मात्र नभई पुरुषहरूले समेत व्रत बस्ने तथा मनसादेवीको पूजाअर्चना गर्दै रातभर जाग्राम बस्ने परम्परा रहेको बंगाली समुदायका अगुवाहरू बताउँछन्।
दिनभर व्रत बसेका व्रतालुले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार घाटरा पिठा तथा फलफूल प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ। षष्ठीका दिन बिहान बलिपूजा गरेपछि चेलीबेटी, भान्जाभान्जी, आफन्त तथा साथीभाइलाई बोलाएर प्रसाद खुवाउने चलन रहेको समाजका सचिव रविन मण्डलले बताए।
सोही दिन साँझ मनसादेवीको मूर्ति नदीमा लगेर विधिपूर्वक विसर्जन गरेपछि तीनदिने पर्व सम्पन्न हुने परम्परा रहेको छ। यसरी धार्मिक आस्था, मौलिक संस्कृति, नयाँ पुस्ताको सहभागिता र सामाजिक सेवाको भावनालाई एकैसाथ अघि बढाउँदै बंगाली समाज सेवा समिति कनकाईले आयोजना गरेको यस वर्षको मनसादेवी पूजा कार्यक्रमले बंगाली समुदायको सांस्कृतिक पहिचान संरक्षणसँगै विपदमा परेका नागरिकप्रतिको सामाजिक उत्तरदायित्वसमेत उजागर गरेको पाइन्छ ।

