झापा / गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वदायी भूमिकामा अन्तर्राष्ट्रिय झापाली समाजका वर्तमान तथा पूर्व नेतृत्वकर्ता र अग्रज व्यक्तित्वहरू दिनेश पोखरेल, दिपकप्रसाद ओली, महेन्द्र चम्लागाई र भवानी ओलीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् ।
झापा जिल्ला स्थायी घर भई विभिन्न मुलुकलाई कर्मथलो बनाएका चारजना प्रभावशाली नेताहरू एनआरएनएको केन्द्रीय तहमा स्थापित भएसँगै अन्तर्राष्ट्रिय झापाली समाजको गरिमा र प्रभाव प्रवासमा थप मजबुत देखिएको छ । संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा झापा कनकाईका दिनेश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । मिलनसार र सरल स्वभावका धनी पोखरेलले उम्मेदवारी घोषणा गरे लगत्तै उनलाई चौतर्फी समर्थन प्राप्त भएको थियो । लामो समयदेखि एनआरएनए अभियानमा अनवरत रूपमा सक्रिय रहँदै आएका पोखरेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को उपाध्यक्ष पदमा सर्वसम्मत वातावरण निर्माण गर्न विशेष भूमिका खेल्ने विश्वभरका एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले यसअघि एनआरएनए अष्ट्रेलियाको प्रवक्ता, उपाध्यक्ष (न्यू साउथ वेल्स संयोजक), र सल्लाहकार जस्ता महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । यसअघि उनले एनआरएनए ओसियाना क्षेत्रीय संयोजकको भूमिकामा रहेर अष्ट्रेलिया, न्यूजील्याण्ड र पपुवा न्यू गिनी लगायतका क्षेत्रमा रहेका नेपाली समुदायका मुद्दा, समस्या र अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए । प्रवासी नेपालीहरूको एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा उनले पु¥याएको योगदानकै कारण उनी नेपाली समुदायमाझ लोकप्रिय छन् ।
आफ्नो भोगाइ र गराइले खारिएको नेतृत्व शैलीका कारण धेरैका लागि प्रेरणाको स्रोत बनेका पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष समेत हुन् । हाल सो संस्थामा संरक्षकको भूमिकामा रहेर उनले विश्वभर छरिएका झापालीहरूलाई संगठित गर्ने कार्य गरिरहेका छन् । नेपाल बाहिर रहे पनि आफ्नो जिल्ला, समाज र समुदायसँगको सम्बन्धलाई मजबुत बनाउन उनी सधैं अग्रसर देखिन्छन् ।
यसैगरी ५१ सदस्यीय सल्लाहकार समितिमा अन्तर्राष्ट्रिय झापाली समाजका तदर्थ समिति संयोजक तथा हालका संरक्षक भवानी ओली चयन भएका छन् । लामो समयदेखि अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका ओली प्रवासमा रहेका नेपालीहरूको हकहित र सामाजिक अभियानको अग्र मोर्चामा रहेर काम गर्ने एक प्रखर व्यक्तित्व हुन् ।
यसका साथै, एनआरएनएको नवगठित शक्तिशाली ५१ सदस्यीय सल्लाहकार समितिमा अन्तर्राष्ट्रिय झापाली समाजका वर्तमान अध्यक्ष महेन्द्र चम्लागाई चयन भएका छन् । झापाको बाह्रदशीका स्थायी बासिन्दा चम्लागाई कतारका एक स्थापित एवं अत्यन्तै प्रतिष्ठित व्यवसायी हुन् । लामो समयदेखि कतारलाई कर्मथलो बनाएर व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय चम्लागाईको यो नियुक्तिलाई एनआरएनए वृत्तमा निकै महत्वका साथ हेरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको नेतृत्व सम्हालिरहेका उनको अनुभव र सामाजिक योगदानले एनआरएनएको गरिमा र सांगठनिक सक्षमतालाई थप उचाइमा पु¥याउने विश्वास लिइएको छ ।
यसैगरी, एनआरएनएको संगठनलाई थप चलायमान बनाउने उद्देश्यका साथ उपमहासचिव पदमा अन्तर्राष्ट्रिय झापाली समाजका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक दिपकप्रसाद ओली मनोनित भएका छन् । इजरायलबाट एनआरएनए अभियानमा प्रतिनिधित्व गर्दै आएका ओली जुझारु र अनुभवी नेताका रूपमा परिचित छन् ।
संघको विधानमा रहेको व्यवस्था बमोजिम संस्थाको बृहत्तर हित, नीति निर्माण र विश्वभर छरिएका नेपालीहरूको भावनालाई समेट्ने उद्देश्यले यस सल्लाहकार समितिको चयन गरिएको महासचिव डा. चिरन्जीवी खड्काद्वारा जारी परिपत्रमा उल्लेख छ । प्रवासमा रहेका लोकप्रिय र प्रतिष्ठित व्यक्तित्वहरू समेटिएको यो नवगठित सल्लाहकार टिम र नयाँ नेतृत्वले संघलाई सही मार्गनिर्देशन गर्दै आगामी कार्यकाललाई ऐतिहासिक रूपमा सफल बनाउन ठोस योगदान दिने अपेक्षा गैरआवासीय नेपाली समुदायले राखेको छ ।
