कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. ६६,३५,८८,६९८ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको २०औं अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख आशा शिवाकोटीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको आगामी वर्षका विकास योजनाहरूको विस्तृत खाका सार्वजनिक गरेकी हुन् ।

शिवाकोटीले विगत आर्थिक वर्षहरूमा कनकाई नगरपालिकाले वित्तीय अनुशासन, राजस्व परिचालन र पूर्वाधार विकासमा देखाएको उल्लेखनीय प्रगति र æसर्वोत्कृष्ट नगरपालिकाÆ घोषणा हुनुले नगरको गौरवलाई थप उचाइमा पुर्याएको बताइन्। उनले प्रस्तुत गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेटिएको छ भने सामाजिक सुरक्षा भत्ता बापत अनुमानित रु. ३० करोड यस कुल बजेटमा समावेश गरिएको छैन ।
नगरसभामा प्रस्तुत विनियोजन विधेयक २०८३ र आर्थिक विधेयक २०८३ माथि छलफल गर्दै कुल बजेट अनुमोदन गरिएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा उपप्रमुख शिवाकोटीले प्रस्तुत गरेको बजेट सर्वसम्मत अनुमोदन भएको हो। सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्नो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विधान समिति संयोजक निर्मला खड्का, लेखा समिति संयोजक भगन टुडु, अनुगमन समिति संयोजक शिवाकोटीको आदेशमा सदस्य सचिव जमुना कटुवाल, सुशासन समिति संयोजक सावित्रा बर्देवा, न्यायिक समिति संयोजक शिवाकोटीको आदेशमा सदस्य नवलकिशोर दत्त, जिन्सी शाखाबाट भोजराज आचार्य लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए।
यसै अवसरमा लेखा शाखाका प्रमुख क्षेत्रनाथ शर्माले २०७४/७५ देखि हालसम्म महालेखाले उठाएको टिप्पणीबारे संक्षिप्त जानकारी दिए। नगरसभामा अत्यन्तै अनुशासित वातावरणमा छलफल भएको थियो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई–५ का वडाअध्यक्ष कृष्णबहादुर राई तथा कनकाई–८ की वडा सदस्य रीता उप्रेतीले बजेट कार्यान्वयनमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए।

बजेटको संरचना र विश्लेषण
बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी, स्थानीय सञ्चित कोष, समपूरक तथा सशर्त अनुदानलाई आधार मानी तर्जुमा गरिएको छ। संघीय राजस्व बाँडफाँटबाट रु. ११,७२,१२,००० प्राप्त हुने अनुमान गरिएको छ भने कोशी प्रदेशको सवारी कर बाँडफाँटबाट रु. १,४२,४०,८९८ प्राप्त हुने अपेक्षा गरिएको छ। यसरी जम्मा रु. १३,१४,५२,८९८ प्राप्त हुने रकमलाई कार्यालय खर्च तथा कार्यक्रम खर्च शीर्षकमा विनियोजन गर्ने योजना प्रस्तुत गरिएको छ।
नगरपालिकाको आर्थिक ऐन बमोजिम विभिन्न कर तथा राजस्वबाट रु. १०,२९,५६,८०० प्राप्त हुने अनुमान गरिएको छ। चालु आ.व. २०८२/८३ को अन्त्यसम्म बाँकी रहने अनुमानित स्थानीय सञ्चित कोष रकम रु. २,९७,००,००० लाई नगर तथा वडास्तरका दायित्वमा रहने योजना तथा नयाँ सञ्चालन गरिने योजनामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा प्राप्त हुने समपूरक अनुदान रु.७४,००,००० रहेको छ भने संघीय तथा प्रदेश सरकारबाट तोकिएका कार्यक्रमका लागि प्राप्त हुने सशर्त अनुदान रु. २२,४०,००,००० रहेको छ।
उद्देश्य र प्राथमिकता
बजेटका उद्देश्यहरूमा नगरमा रहेका प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै श्रम शक्ति र पुँजीको अधिकतम उपयोग गरी गरिबी न्यूनिकरण गर्ने, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई नागरिक आवश्यकतामा लगानी गर्ने, प्राकृतिक विपत्ती रोकथाम तथा नागरिक जीवन र सम्पत्तिको सुरक्षा गर्ने, कृषि तथा पशुपालनलाई उच्च परिचालन गर्दै उत्पादन वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य तथा खानेपानीमा गुणस्तर सुनिश्चित गर्ने, गुणस्तरीय पूर्वाधार विकास गरी स्थानीय रोजगारी सिर्जना गर्ने, प्रविधिको उपयोगद्वारा सुशासनमा सुधार गर्ने, æसमृद्ध कनकाईÆ नारालाई आत्मसात् गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य समावेश गरिएको छ।
प्राथमिकतामा कृषि तथा पशुपालन रुपान्तरण, स्वास्थ्य र शिक्षाको गुणस्तरमा वृद्धि, गरीब तथा विपन्न परिवार लक्षित कार्यक्रम सञ्चालन, आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकास, भौतिक पूर्वाधार निर्माण एवम् स्तरोन्नति, संस्थागत क्षमता विकास, लक्षित वर्गको क्षमता विकास, पर्यटन प्रवद्र्धन, एकीकृत विपद् व्यवस्थापन तथा वातावरण संरक्षण, औद्योगिकीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि, हरित, उज्यालो, बालमैत्री नगर निर्माणलाई समावेश गरिएको छ।
कनकाई नगरपालिकाले प्रस्तुत गरेको ६६ करोड ३५ लाख ८८ हजार ६९८ बराबरको बजेटले नगरपालिकाको आगामी वर्षका विकास योजनाहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ। उपप्रमुख आशा शिवाकोटीले प्रस्तुत गरेको बजेटले नगरपालिकाको आर्थिक विकास, सामाजिक न्याय, पूर्वाधार निर्माण तथा दिगो विकासलाई प्राथमिकता दिएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न नगरसभाले अनुमोदन गरेको यो बजेटले नगरलाई समृद्ध कनकाई निर्माणतर्फ अघि बढाउने लक्ष्य राखेको बताइएको छ ।
