कनकाई खबर /झापाको कनकाई नगरपालिकाले भूमि प्रशासन शाखा सञ्चालन गर्दै स्थानीय तहमै पहिलो पटक धनीपूर्जा वितरण सेवा सुरु गरेको छ।
नगरपालिकाले व्यवस्थापन गरेको शाखाबाट कनकाई वडा नं. ६ का दुईजना सेवाग्राहीले मंगलबार आफ्नो जमिनको किनबेच प्रक्रिया पूरा गरी कित्ता काट सहितको धनीपूर्जा प्राप्त गरेपछि यो ऐतिहासिक कदम औपचारिक रूपमा प्रारम्भ भएको हो ।
कनकाई–६ निवासी कुसुम सिटौलाले सोही वडाकी लक्ष्मी योन्जन लामालाई १ कठ्ठा ११ धुर जमिन बिक्री गरेपछि नगरपालिकामा कित्ता काट सहितको जग्गा पास भई दुबैजनाले नियम अनुसारको धनीपूर्जा प्राप्त गरेका थिए। धनीपूर्जा हातमा पाउँदा उनीहरू अत्यन्तै उत्साहित देखिन्थे। सिटौलाले भनिन्, अब हामीलाई धनीपूर्जा लिन चन्द्रगढीस्थित मालपोत कार्यालय धाउनुपर्ने छैन, आफ्नै नगरपालिकाबाटै सेवा पाउँदा ठूलो राहत मिल्यो। योन्जनले पनि खुशी व्यक्त गर्दै भनिन्, स्थानीय तहमै सेवा पाउँदा बिचौलियाबाट जोगिनुका साथै समय र खर्च दुवै बचत हुने भयो ।
धनीपुर्जा वितरणलाई भूमि प्रशासन शाखाका प्रमुख बद्री दहालले सहजीकरण गरेका थिए। नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरूको उपस्थितिमा धनीपूर्जा वितरण कार्यको शुभारम्भ भएको थियो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्बन्धित व्यक्तिलाई धनीपुर्जा दिँदै भने, लामो प्रयत्नपछि भूमि प्रशासन सेवा स्थानीय तहमै ल्याउन सफल भएका छौं। यसले नगरवासीलाई ठूलो राहत मिल्नेछ। अब नागरिकले धनीपूर्जा लिन टाढा धाउनुपर्ने छैन, आफ्नै नगरपालिकाबाटै सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्। उनले थपे, यो कार्यले पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री प्रशासनलाई बल पु¥याउनेछ। धनीपुर्जा वितरण गर्दै नगर प्रमुख पोखरेलले संघीय सरकारप्रति धन्यवाद सहित आभार प्रकट गरे ।
नगरपालिकाले हाल भूमि प्रशासन शाखामा कर्मचारी बद्री दहाललाई शाखा प्रमुखको जिम्मेवारी तोकेको छ भने नापी शाखा तर्फ दिवस ओलीलाई जिम्मेवारी प्रदान गरिएको छ । प्राविधिक सहितका अन्य कर्मचारीहरुमा कृष्णप्रसाद भट्टराई लगायत १३ जना कर्मचारी खटाइएको छ। संवैधानिक व्यवस्थाअनुसार भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू अब स्थानीय तहबाटै सञ्चालन गर्न सकिने व्यवस्था कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले सेवा सुचारु गरेको बताइएको छ ।
यस कदमले नागरिकलाई समय, खर्च र झन्झट कम गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहमै सेवा पाउँदा नागरिकले आफ्नो अधिकार सहज रूपमा प्रयोग गर्न सक्नेछन्। धनीपूर्जा प्राप्त गरेका सेवाग्राहीहरूले भने, हामीलाई अब आफ्नै नगरपालिकाबाटै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने भएपछि जीवन सहज भएको छ। यसले हाम्रो विश्वास अझै बढाएको छ।
कनकाई नगरपालिकाले भूमि प्रशासन सेवा सुरु गरेसँगै झापाका अन्य नगरपालिकाहरूमा पनि यस किसिमको सेवा विस्तार हुने अपेक्षा गरिएको छ। यसले स्थानीय शासनलाई अझै सबल बनाउने र नागरिकलाई नजिकैबाट सेवा दिने मार्ग प्रशस्त गर्ने विश्वास नगरवासीले व्यक्त गरेका छन्।
