कनकाई खबर / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न झापा जिल्ला पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको आठौं संस्करण कनकाई कप २०८३को उपाधी बिर्तामोडले हात पारेको छ ।
उपाधीसँगै बिर्तामोडले प्रथम पुरस्कार नगद १लाख २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्व अध्यक्ष दिननाथ खतिवडा, अध्यक्ष छबी थपलिया, सल्लाहकार राजेन्द्र उप्रेती लगायतले पुरस्कार वितरण गरे । त्यस्तै उपविजेता बनेको झापा गाउँपालिकाले नगद ७५ हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

झापा गाउँपालिका र बिर्तामोड नगरपालिका बीच भएको फाइनल खेलको निर्धारित समय अत्यन्तै प्रतिस्पर्धात्मक भएका कारण २/२ गोल भएपपछि खेलको निर्णय ट्राइबेकरबाट भएको जनाइएको छ । ट्राइबेकरमा बिर्तामोड तर्फ ४ र झापा गाउँपालिका तर्फ ३ गोल भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए ।
खेलको निर्धारित समयमा झापा गाउँपालिकाका खेलाडी नरेश मुर्मू र किरण उराउले १/१ गोल गरेका थिए । त्यस्तै बिर्तामोड तर्फका खेलाडी सौरभ लिम्बूले मात्र २ गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टिम विर्तामोडका आर.के. कन्दङवा घोषित भए । उनलाई प्रतिष्ठानका अध्यक्ष थपलियाले नगद पुरस्कार २ हजार एकसय प्रदान गरे ।

सोही अवसरमा फाइनल खेल अवलोकन गरिरहेका स्थानीय दुईजना करिब १०/१२ वर्ष उमेर समूहका बालक निर्देश सेड्याईँ र रिवाना ओझाले आफ्नै छनौटमा उत्कृष्ठ खेल प्रदर्शन गरेको भन्दै बिर्तामोडका जर्सी नं.६ का सौरभ लिम्बू र जर्सी नंं.१२ का आर.के. कन्दङ्वालाई क्रमशः रु.१ हजार ५ सय र रु.१ हजार नगद प्रदान गरेको जनाइएको छ ।
प्रतियोगिताको उत्कृष्ठ गोल किपरका रुपमा बिर्तामोडका मनोज गुरुङ घोषित भए भने उत्कृष्ठ डिफेन्डरमा बिर्तामोडकै सनम राई, उत्कृष्ठ मिड फिल्डर झापा गाउँपालिका तर्फका मार्कुस किस्कु , सर्वाधिक गोल कर्ता अर्जुनधाराका खेलाडी निखिल तामाङ घोषित भए । उनीहरुलाई जनही ३ हजार १ सय रुपैंयाँ नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको जनाइएको छ ।विजेताका लागि प्रदान गरिएको नगद पुरस्कारको सम्पूर्ण डमी चेक स्थानीय दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाबाट सहयोग प्राप्त भएको जनाइएको छ ।

त्यस्तै म्यान अफ द टुर्नामेन्ट बिर्तामोडका सौरभ लिम्बू घोषित भए । म्यान अफ द टुर्नामेन्टको नगद पुरस्कार ५ हजार १सय नगद स्थानीय कनकाई वडा नं.४ स्थित जनजागृति समूहबाट स्पोन्सर भएको जनाइएको छ । संस्थाका अध्यक्ष भरत संग्रौलाको उपस्थितीमा सो पुरस्कार प्रदान गरिएको हो ।
बैशाख २६ देखि सुरु भइ जेठ ६ गते बुधबार सम्पन्न गर्ने योजनाका साथ अघि बढेको प्रतियोगिताको फाइनलको समयमा भारी वर्षाका कारण अवरुद्ध भएको खेल ७ गते बिहिबार सम्पन्न भएको हो । जिल्लाका १२ वटा पालिकाको सहभागिता रहेको यस प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष छबी थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको समापन विशेष समारोहका अवसरमा फुटबल प्रशिक्षक एवं प्रतियोगिता समन्वय समितिका संयोजक समेत रहेका सामाजिक व्यक्तित्व दिलकुमार कार्कीलाई खेल क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङकन गर्दै नगद सहित, सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।
समापन विशेष कार्यक्रममा झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्व अध्यक्ष दुर्गा प्रसाईँ र दिननाथ खतिवडा, सल्लाहकारहरु राजेन्द्र उप्रेती, ख्याम ओली, नारायण पोखरेल लगायतको आतिथ्य रहेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले जानकारी दिए ।
प्रतियोगिताको प्रारम्भदेखी समापन सम्म नै स्वास्थ्य सेवा उपलव्ध गराउने स्थानीय राधाकृष्ण फार्मेसी साथै एम्बुलेन्स सेवा उपलव्ध गराउँने कनकाई नगर अस्पताल एवं नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा साथै सुरक्षा व्यवस्थालाई अत्यन्तै सहज एवं मजवुत राख्न महत्वपूर्ण भूमिका खेल्ने ईलाका प्रहरी कार्यालय सुरुङ्गा र मिडिया पार्टनरका रुपमा रहेको कनकाई सुरुङ्गा प्रेस क्लव लगायतको सहयोगप्रति संस्थाको तर्फबाट अध्यक्ष थपलियाले धन्यवाद सहित आभार प्रकट गरेका छन् ।
त्यस्तै प्रतियोगितालाई थोरै भएपनि आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता एवं सहयोगी मनहरुप्रति आयोजक संस्थाको तर्फबाट धन्यवाद सहित आाभार प्रकट गरिएको छ । प्रतियोगिताको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।
