कनकाई खबर / गैरादह नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा नगरपालिले सुरुङ्गामा जारी कनकाई कप फुटबल प्रतियोगितामा शानदार विजयी सुरुवात गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा आइतबार अर्जुनधाराले फराकिलो गोल अन्तरको जित निकालेको हो । अर्जुनधाराको जितको लागि निखिल तामाङ एक्लैले ४ गोल गरे । बच्चन लिम्बु, राजेश दाहाल र निशान बस्नेतको समान १/१ गोलको मद्धतमा अर्जुनधाराले शानदार जित निकालेको हो ।

ह्याट्रिकसहित ४ गोल गरेर उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको …म्यान अफ दि म्याच घोषीत भए । उनले नगद २ हजार एकसय रुपैयाँ पुरस्कार पाए । म्यान अफ दि म्याचको नगद पुरस्कार प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले सौजन्य गरेको जनाइएको छ ।
यो जितसँगै अर्जुनधाराले प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ । पुर्वराष्ट्रिय खेलाडी देवेन्द्र तामाङसहित मैदान उत्रिएको अर्जुनधाराले प्रतियोगिताको उपाधीका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हो ।
प्रतियोगिताको सोमबारको खेल हल्दीबारी गाउँपालिका र बिर्तामोड नगरपालिका बीच हुने आयोजक संस्थाका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले जानकारी दिए । आगामी जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख २० हजार तथा दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।आठौं संस्करणका रुपमा रहेको प्रतियोगितामा झापाका १२ पालिकाहरुको सहभागिता रहेको अध्यक्ष थपलियाले बताए ।

कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीले प्रतियोगिताको दोस्रो दिनको खेल उद्घाटन गर्दै फुटबल खेलको महत्व र आयोजकको योगदानबारे मन्तव्य राखे। उनले खेलकुदले युवाहरूलाई अनुशासन, स्वास्थ्य र सामाजिक एकतामा बाँध्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे। सुवेदीले आयोजक खेलकुद प्रतिष्ठानको प्रशंसा गर्दै भने, यस्ता प्रतियोगिताले प्रतिभा उजागर मात्र होइन, समुदायलाई नजिक ल्याउने काम पनि गर्छ। साथै उनले कनकाई नगरपालिकाले खेलकुद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा खेलकुदलाई अझै प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतियोगिताको अवधिभर स्थानीय राधाकृष्ण फार्मेसीले स्वास्थ्य सेवाको सहयोग गर्ने जनाइएको छ । त्यस्तै प्रतियोगिता अवधिभरका लागि आवश्यक्ता अनुसार कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स सेवा सहयोग गर्ने जनाइएको छ ।
