कनकाई खबर/ झापाको सुरुङ्गाका स्थानीय युवा डा.अभिषेक लुइँटेलले आफ्नै जन्मस्थलमा स्वरोजगार सृजना गर्दै समाजलाई प्रेरणा दिने उदाहरण प्रस्तुत गरेका छन् । शिक्षित युवाहरू अवसरको खोजीमा विदेश पलायन भइरहेको आजको जटिल अवस्थामा डा. लुइँटेलको यो प्रेरणादायी यात्रा समाजका लागि एक उदाहरण बनेको छ ।

कनकाईको ३, सुरुङ्गास्थित पशुपति अंग्रेजी माविबाट २०७० सालमा विशिष्ट श्रेणीमा एसएलसी गरेका अभिषेकले २०७८ मा काठमाण्डौं विश्वविद्यालय, धुलिखेलबाट ब्याचलर इन डेन्टल सर्जरी { बिडिएस) कोर्स पूरा गरेका थिए। अध्ययनपछि उनले सिन्धुपाल्चोकमा केही समय काम गरे। अन्य अस्पतालबाट आकर्षक अफर आए पनि उनले आफ्नै गाउँठाउँमा बसेर सेवा गर्ने लक्ष्यलाई प्राथमिकता दिए। अभिषेकले भने, युवा सबै विदेश जाने परम्परा चलेको छ, तर म आफ्नो परिवारका साथ आफ्नै मुलुकमा केही गर्न चाहन्छु।
त्यस्तै सोचलाई मूर्तरूप दिन उनले दुई वर्षअघि २ करोड रुपैयाँको लगानीमा सुरुङ्गा टप्पुचोकमा फूलनारद डेन्टल सेन्टर स्थापना गरे। शनिबार भव्य समारोहका बीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सेन्टरलाई आँखा उपचार सेवा थप गर्दै फूलनारद डेन्टल तथा आई केयर सेन्टरको उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले शिक्षित युवाले विदेश पलायन नभई आफ्नै जन्मस्थलमा स्वरोजगार सृजना गर्नु समाजका लागि प्रेरणादायी कदम भएको उल्लेख गर्दै लुइँटेलको प्रयासलाई प्रशंसा गरे । नगर प्रमुख पोखरेलले आफ्नै परिवारले पनि सेन्टरको सेवा लिएको र सेवाबाट सन्तुष्ट भएको अनुभव सुनाए ।
स्थानीय स्तरमै आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै युवाले रोजगारी सिर्जना गर्ने यो पहलले सुरुङ्गा मात्र नभई सम्पूर्ण झापा जिल्लाका युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

डा. लुइँटेलको यो प्रयासले शिक्षित युवाले विदेश जानैपर्छ भन्ने सोचलाई चुनौती दिँदै स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरेको छ भने अर्कातर्फ स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विश्वास जगाएको पाइन्छ ।
संस्थाका प्रवन्ध निर्देशकको रुपमा रहेका डा. अभिषेकका पिता भवानी लुइँटेलले उद्घाटन विशेष समारोहमा सहभागीहरुलाई स्वागत गर्दै संस्थाको प्रारम्भिक अवस्थाबारे जानकारी दिए । निक्कै भावुक बनेका लुइटेलले यो उपलब्धी आफ्ना स्व. मातापिताको आशिर्वाद र देन भएको उल्लेख गरे। उनले आफ्ना सन्तान छोरा, बुहारी र छोरीले प्रगति गरेकोमा सन्तुष्टि व्यक्त गर्दै परिवारकै सामूहिक प्रयासले यो सेवा सुरु भएको बताए । लामो समय शिक्षण पेशामा संलग्न रहेका भवानी र उनकी श्रीमती गीता लुइँटेल अहिले छोराबुहारीले सुरु गरेको सेवामा नै केन्द्रित हुँदै जीवन बिताइरहेका छन् ।

आजको दिनमा धेरै युवाहरू विदेश पलायन भइरहेका छन्। तर डा. लुइँटेलको उदाहरणले देखाएको छ कि अवसर सिर्जना गर्ने सोच, लगानी गर्ने साहस र समाजप्रतिको जिम्मेवारी बोध भएमा स्वदेशमै पनि उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ।
स्थानीय नागरिकहरूले पनि उनको यो कदमलाई खुलेर समर्थन गरेका छन्। सुरुङ्गा क्षेत्रमा आधुनिक दन्त उपचार र आँखा जाँच सेवा उपलब्ध भएपछि स्थानीयलाई सुविधा पुगेको बताइएको छ । यसले स्वास्थ्य क्षेत्रमा निर्भरता घटाउने मात्र होइन, युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाएको बताइएको छ।
डा. अभिषेक लुइँटेलको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, सामाजिक प्रेरणाको स्रोत पनि हो। उनका कदमले देखाएको छ कि शिक्षित युवाले विदेश पलायन नगरी आफ्नै जन्मस्थलमा स्वरोजगार सृजना गर्दा समाजलाई ठूलो लाभ पुग्छ ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस झापा सभापति देउमान थेबेले सुरुङ्गामा दाँत तथा आँखासम्बन्धी समस्याको उपचारका लागि लुइँटेल परिवारले लिएको यो कदमले आफूहरू गौरावान्वित भएको बताए ।
संस्थाका प्रवन्ध निर्देशक भवानीप्रसाद लुइँटेलको अध्यक्षतामा भएको उद्घाटन विशेष कार्यक्रममा पशुपति अङ्ग्रेजी माविका प्रिन्सिपल एलपी उप्रेती, समाजसेवी तिलचन्द्र उप्रेती, रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट डिल्लीराम मैनाली लगायतले डाक्टर, इन्जिनियर जस्ता युवा जनशक्ति राम्रो अवसरको खोजीमा विदेश भासिइरहेको वर्तमान अवस्थामा डा. अभिषेकको निर्णय आम युवाका लागि प्रेरणादायी र अनुशरणीय रहेको बताए ।
छोरा डा. अभिषेक र बुहारी प्रज्ञाले गरेको निर्णयमा बडीबुबा परमानन्द, काका ओम, बुबा भवानी र आमा गीताको पनि साथ र सहयोग छ । आफ्नै जन्मेहुर्केको ठाउँमा बसेर जनताको सेवा गर्ने छोराबुहारीको निर्णयमा लुइँटेल परिवार खुसी भएको बताइएको छ ।
डेन्टल सेन्टरमा दाँतको समस्यासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहने बताइएको छ । डा. अभिषेकले दिएको जानकारीअनुसार अत्याधुनिक उपकरणको सहयोगमा दाँतसम्बन्धी साधारणदेखि विशेषज्ञ सेवा २४ सै घण्टा सस्तो र सुलभ रुपमा उपलब्ध हुनेछ । सो सेन्टरमा डा. अभिषेकसँगै अर्थोडेन्टिस्ट डा. मुकेश शाह, डा. अमिर हुसेन, डा. ऋचा पाण्डेको पनि सेवा रहने सेन्टरका कर्मचारी कौशिला लुइँटेल -खतिवडा) ले जानकारी दिइन् ।
आँखातर्फ आँखा जाँचका साथमा चश्माघर पनि सञ्चालनमा रहने बताइएको छ । आँखाजाँचतर्फ दृष्टि विशेषज्ञ प्रज्ञा दाहाल, रेणु खत्रीलगायतको सेवा रहने बताइएको छ । औपचारिक कार्यक्रमको संचालन प्राध्यापक एवं सञ्चारकर्मी तीर्थराज खरेलले गरेका थिए ।
