कनकाई खबर/ अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ को २०२६/२०२७ कार्यकालका लागि झापाको सुरुङ्गा निवासी लिलाप्रसाद चिमरिया निर्विरोध गभर्नर बन्ने निश्चित भएको छ ।
शुक्रबार सुनसरीको इटहरीमा आयोजित विशेष कार्यक्रममा उनले शतप्रतिशत मतसहितको समर्थन जुटाउँदै औपचारिक रूपमा मनोनयन दर्ता गरेका थिए। एकल उम्मेदवारी परेपछि अब उनको नेतृत्वमा डिस्ट्रिक्ट ३२५’सी’ को आगामी यात्रा तय भएको हो ।
आगामी बैशाख ५ गते झापाको दमकमा हुने डिस्ट्रिक्ट सम्मेलनले चिमरियालाई औपचारिक रूपमा गभर्नर घोषणा गर्नेछ। सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि भने अन्य उम्मेदवारहरू आउने सम्भावना रहेको बताइएको छ। तर गभर्नर पदमा चिमरियाको निर्विरोध नेतृत्वले लायन्स अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
चिमरिया सामाजिक अभियन्ता मात्र होइनन्, मानवीय सेवामा समर्पित व्यक्तित्वका रूपमा परिचित छन्। एक सफल व्यवसायीका रुपमा स्थापित सकारात्मक सोचका धनी चिमरीयाले सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष हुँदै विभिन्न सामाजिक तथा सेवामूलक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। समाज रुपान्तरणमा उनले खेलेको योगदान उल्लेखनीय छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उनले निरन्तरता दिएको अभियानले स्थानीय समुदायमा ठोस प्रभाव पारेको छ।
लायन्स अभियानमा उनको लामो अनुभव छ। २०१५/१६ मा लायन्स क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष, २०१६/१७ मा पुनः अध्यक्ष, २०१७/१८ मा जोन चेयरपर्सन, २०१८ /१९ मा रिजन चेयरपर्सन, २०१९/२० मा एरिया चिफ, २०२०/२१ मा एलसिआइएफ डिस्ट्रिक्ट कोअर्डिनेटर, २०२१/२२ मा क्याम्पेन १०० चिफ, २०२२ /२३ र २०२३/२४ मा क्याबिनेट सेक्रेटरी, २०२४/२५ मा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर र २०२५/२६ मा फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर हुँदै उनले नेतृत्वको सीढी चढ्दै आएका छन्। यसरी निरन्तर जिम्मेवारी सम्हाल्दै आएको अनुभवले उनलाई गभर्नर पदमा अझ सक्षम बनाएको छ ।
उनको कार्यकाल २०२६ जुलाई १ देखि सुरु भई २०२७ जुनको अन्तिम सातासम्म रहनेछ। डिस्ट्रिक्ट ३२५’सी’ अन्तर्गत हाल १६२ वटा क्लब र करिब ३ हजार ४ सयभन्दा बढी सदस्य रहेका छन्। यो डिस्ट्रिक्ट कोशी प्रदेशलाई समेट्ने गरी सञ्चालनमा रहेको १५ वटा डिस्ट्रिक्टमध्ये एक हो।
चिमरियाको नेतृत्वमा लायन्समार्फत विभिन्न सामाजिक कामहरू सम्पन्न भएका छन्। अन्तर्राष्ट्रिय फन्डमार्फत मानव सेवा आश्रम इटहरी, माया घर तथा दमक नगर अस्पताललाई भेन्टिलेटरसहित करिब ३ करोड रुपैयाँभन्दा बढीको आईसीयू सहयोग हस्तान्तरण गरिएको छ। जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई सार्थक बनाउँदै उनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्।
पढ्न नसक्ने विद्यार्थीलाई सहयोग, कपी बैंक सञ्चालन, स्टेशनरी सामग्री वितरण, महिलाका लागि शौचालय निर्माण जस्ता कार्यक्रमहरू उनले निरन्तर सञ्चालन गर्दै आएका छन्। यी कार्यक्रमहरूले स्थानीय समुदायमा प्रत्यक्ष लाभ पुर्याएको छ।
गभर्नर पद एक वर्षे सर्वोच्च सेवा पद भएकाले सेवा गर्ने हातहरू थप विस्तार गर्ने लक्ष्यका साथ आफू अघि बढ्ने चिमरियाले बताएका छन्। उनका अनुसार, लायन्स अभियानलाई अझ सशक्त बनाउँदै समाजमा आवश्यकताअनुसार सेवा पुर्याउने योजनासहित आफू अघि बढ्ने बताइएको छ ।
यसैबीच, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि रमेश खत्री र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि उदयनारायण बरालले उम्मेदवारी दिएका छन्। तर गभर्नर पदमा चिमरियाको निर्विरोध नेतृत्वले लायन्स अभियानलाई नयाँ दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।
चिमरिया अबको लायन्स गभर्नर मात्र होइनन्, उनी त्यसैपनि मानवीय सेवामा समर्पित अभियन्ता हुन्। उनको नेतृत्वमा लायन्स अभियानले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अझ ठूलो उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ। समाज रुपान्तरणमा उनको योगदानले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५’सी’ लाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने आशा गरिएको छ ।
