कनकाई खबर / मानवसेवा आश्रमले पारिवारिक प्रेम, सामाजिक जिम्मेवारी र अभिभावकप्रति सम्मान प्रकट गर्न झापाका विभिन्न स्थानमा आमा सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।
यसै क्रममा मङ्गलबार कनकाई नगरपालिकाको सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।त्यस्तै आश्रमले मेचीनगर नगरपालिकाको काँकडभिट्टा र बाहुनडाँगीमा विद्यार्थी र समुदाय लक्षित कार्यक्रम समेत सम्पन्न गरेको छ । आमा सेमिनार विशेष कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, कनकाई नगरपालिका क्षेत्रका जनप्रतिनिधिहरु, ज्येष्ठ नागरिक, युवा, विद्यार्थी, सामाजिक अभियन्ता, सरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सहभागी थिए ।
बाक्लो उपस्थिति रहेको आमा सेमिनारमा कुनै भड्किलो प्रचारबिना पनि कनकाई उद्योग वाणिज्य संघको हल पूरै भरिएको थियो । शान्त र व्यवस्थित वातावरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियोे ।
सेमिनारमा नरुने र भावुक नहुने कोही थिएनन् । उपस्थित सबैले आँसुलाई माध्यम बनाउँदै मनको भावनाहरु पोखिरहेका थिए । कतिको आँखाबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आँखामा सम्मान र ममता भरिएको आँसु, त कसैको आँखामा थिए मातापितासँगको बिछोडको आँसु । सबैको आँखाबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए ।
मानव सेवा आश्रमले कनकाईको सुरुङ्गामा आयोजना गरेको आमा सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पीडा सम्बन्धि प्रस्तुतिले कतिपयले आफूले जानेर वा अन्जानमा आमाप्रति गरेको व्यवहारलाई सम्झिएर आत्माग्लानीको आँसु बगाइरहेका थिए भने कतिले मातापितासँगको बिछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोइरहेका थिए । सेमिनारमा उपस्थित सबैको आँखा र मनमस्तिष्क आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो ।
अभियन्ता होमनाथ तिमल्सिनाले संचालन गरेको सेमिनार कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख बराल लगायतले कार्यक्रम सफलताको कामना गर्दै समाजमा मातृस्नेह र पारिवारिक सम्बन्धलाई बलियो बनाउन तनाव व्यवस्थापन, खुसी र परोपकारी भावनाको आवश्यकता रहेको कुरामा जोड दिए ।
सेमिनारको सहजीकरण गर्दै मानवसेवा आश्रमका परिकल्पनाकार संस्थापक अध्यक्ष रामजी अधिकारीले सरकारले बनाएका भौतिक संरचना सदुपयोग गर्ने नागरिक समाज हरेक हिसाबले स्वस्थ छैन भने त्यसको कुनै अर्थ रहँदैन भन्ने बिचार राख्दै अब मनोरञ्जन होइन हरेक गाउँघर, टोल समाजमा मनोमञ्जनको आवश्यक्ता रहेको कुरामा जोड दिए । समाजमा मानव प्रवद्र्धनको अत्यन्तै आवश्यक रहेको भन्दै अधिकारीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपालको अभियान–२०८२ को लक्ष्य प्राप्तिका आधार तय गर्नुका साथै पारिवारीक सम्बन्धमा बढेको तिक्ततालाई न्यूनिकरण गरी सम्बन्ध सुमधुर बनाउन चालिएको अभियानमा जोडिन सबैलाई अनुरोध गरे ।
म, मलाई र मेरो परिवारभन्दा माथि मानवीय सेवाको लागि प्रेरित गर्ने, बुबा आमाको महत्व र महिमा बोध गराउँर्दै राष्ट्र राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउनेलगायतका उद्धेश्यसहित आमा सेमिनार कार्यक्रम सम्पन्न भएको हो । आश्रमले नेपालका १९ जिल्लामा २८ वटा शाखामार्फत सडकमा आश्रित मानिसहरुको उद्धार, उपचार र पुनःस्थापना गरी मुलुकलाई सडकमानव मुक्त बनाउन पहल गरिरहेको जनाएको छ । आश्रमको १९औँ शाखा झापाको मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन भइरहेको छ ।
सेमिनारमा आश्रमका कोशी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य गंगाकुमारी थापासहित अभिभावक गोपाल खरेल, साधिका प्रतिक्षा ढुङ्गेल र अनिता खरेल लगायतले आवश्यक व्यवस्थापनको सहजीकरण गरेको जनाइएको छ ।
