विर्तामोड \ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई लिएर पार्टी सम्बद्ध झापाका २३ वटा जनसंगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले सत्ता सम्हालेको २४ घण्टा नबित्दै गरिएको यो कदमलाई एमालेले ‘पूर्वाग्रहप्रेरित र प्रतिशोधपूर्ण’ ठहर गरेको छ ।
एमालेका जनसंगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरस्थित निजी निवासबाटै ओलीलाई पक्राउ गरिनु र कांग्रेस नेता लेखकलाई नियन्त्रणमा लिनु राजनीतिक मुठभेडको संकेत भएको बताएका छन् ।
एमालेका जनसंगठनहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको निष्पक्षतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘आयोगका अध्यक्ष कार्कीले पदभार ग्रहण गर्नुअघि नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणाले उनी पूर्वाग्रही थिए भन्ने पुष्टि भइसकेको थियो । सोही पूर्वाग्रही प्रतिवेदनलाई आधार बनाएर गरिएको गिरफ्तारीको कुनै कानुनी आधार छैन ।’
भूराजनीतिक षड्यन्त्रको आशंका
एमालेले गत भदौ २३ र २४ गतेको प्रदर्शनपछिका घटनाक्रम, निर्वाचनको परिणाम र वर्तमान सरकारको कदमलाई एउटा ठूलो राजनीतिक षड्यन्त्रको कडीका रूपमा व्याख्या गरेको छ । यो गिरफ्तारीमा भूराजनीतिक प्रभाव रहेको र मुलुकका प्रमुख राजनीतिक दलहरू विरुद्ध योजनाबद्ध ढंगले राज्य लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
विज्ञप्ति जारी गर्नेहरूमा एमालेका २३ वटै जनसंगठनका प्रमुखहरू रहेको जनसंगठन समन्वय संयन्त्रकी संयोजक अनिता कन्दङ्वाले जानकारी दिइन् । उनीहरूले सरकारलाई चेतावनी दिँदै भनेका छन् , ‘यस गिरफ्तारी पछि उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं सरकार हुनेछ । हाम्रा श्रद्धेय अध्यक्ष ओलीसहित पक्राउ परेका सबै नेताहरूको तत्काल रिहाई गरियोस् ।’
एमालेले पक्राउको विरोधमा हिजोबाट देशव्यापी आन्दोलन सुरु गरिसकेको छ । दिउँसो विरोध प्रदर्शन गरेर साँझमा मसाल प्रदर्शन गरेको थियो । एमालेले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ ।
