कनकाई खबर / झापाको कनकाई २ स्थित जामुनखाडी कृषि सहकारी संस्थाले विविध कार्यक्रमसहित संस्थाको १०औं वार्षिकोत्सव मनाएको छ ।
संस्था स्थापनाको एक दशक पूरा भएको अवसरमा स्थानीय चारवटा सामुदायिक विद्यालयका आठजना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक, ब्याग, स्टेसनरी लगायतका सामाग्री वितरण गरेको जनाइएको छ । संस्थाको सेवा क्षेत्र अन्तर्गतका विद्यालयहरु सरस्वती मावि, पञ्चकन्या प्रा.वि., जानकी आधारभूत विद्यालय र पशुपति प्रा.वि.का दुई दुईजना गरी आठजना विद्यार्थीलाई विद्यालयका लागि आवश्यकीय सामाग्री वितरण गरिएको हो ।

त्यस्तै संस्थाले आफ्नो सेवा क्षेत्रमा बसोबास गर्दै आएका विभिन्न किसिमको हिंसामा परेका दुईजना महिलालाई जनही ३/३ हजारका दरले नगद सहयोग गरेको संस्थाका व्यवस्थापक अर्जुन रिजालले जानकारी दिए । सोही अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुले गर्दै आएको कार्यको उच्च मुल्याङकन गर्दै प्रोत्साहन स्वरुप तीनजना कर्मचारीलाई नगद रु.५ हजारका दरले पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने कर्मचारीहरुमा व्यवस्थापक अर्जुन रिजाल, लेखा सहायक सम्झना बोहोरा र बजार प्रतिनिधि कुलमाया भारती रहेको जनाइएको छ । कार्यक्रममा संस्थाको भित्ते पात्रो समेत अनावरण गरेर सहभागीहरुलाई वितरण गरेको जनाइएको छ ।
संस्थाका अध्यक्ष कृष्णबहादुर चौहानको अध्यक्षता एवं कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुलाई स्वागत सहित संस्थाको गतिविधिका बारेमा जानकारी दिँदै संस्थाका प्रमुख प्रशिक्षक शिवकुमार गिरीले संस्थाको शेयर पूँजी १ करोड २० लाख रहेको जानकारी दिए । त्यस्तै हालसम्म ४ करोड लगानी गरेको संस्थामा २ करोड ५० लाख बचत रहेको बताइएको छ । प्रविधिको विकाससँगै पछिल्लो समय संस्थाले अनलाइन मार्फत आफ्नो सेवालाई चुस्त दुरुस्त र थप व्यवस्थित बनाउँदै अघि बढेको संस्थाका प्रमुख प्रशिक्षक गिरीले कनकाई खबरलाई जानकारी दिए ।
दश वर्ष अघि २०७२ को चैतमा ३६ जना संस्थापक शेयर सदस्यहरुबाट सुरुवात गरेको संस्थामा हाल आर्थिक मन्दि साथै जेन्जी आन्दोलनको चुनौतीका बावजुद पनि संस्थाले आफ्नो क्षेत्रमा प्रतिष्ठापूर्ण काम गर्दै आएको बताइएको छ ।
कृषिमा नै आत्मनिर्भर हुन सक्ने योग्य किसान साथै स्वयंं रोजगाार हुनेगरी व्यपार व्यवसाय गर्ने तथा वातावरणमैत्री सवारी साधन चलाउँने व्यक्तिलाई सहुलियत कर्जाको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने संस्थाले जनाएको छ । संस्थाले बाँझो जग्गा जमिन खोजी गरी सामुहिक उत्पादनमा जोड दिने साथै आधुनिक कृषि औजार खरिद गरी सहुलियत दरमा शेयर सदस्यहरुलाई सुविधा दिने संस्थाको भावी योजना रहेको बताइएको छ ।
कारितास नेपालसँगको सहकार्यमा संस्थाले कृषि तथा पशुपालनका क्षेत्रमा गरेको लगानी अत्यन्तै उपलव्धीमूलक भएको भन्दै संस्थाका अध्यक्ष कृष्णबहादुर चौहानले देशभर आर्थिक तरलता संकटका कारण लामो समयसम्म संस्थाले भोगेको समस्यालाई समाधान गर्दै लगानीमा वृद्धि गरी आशा गरेअनुरुप संस्थालाई मुनाफामा लैजान सफल भएको बताएका छन् ।
कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य नरादेवी मगर, कारितास नेपालका टंक कट्टेल लगायत स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी कनकाई नगरपालिका वडा नंं.२ का वडाअध्यक्ष बलराम राई, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी, पुर्व अध्यक्ष ख्यामप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको थप सफलताको कामना गरे । संस्थाको वार्षिकोत्सव विशेष कार्यक्रमको संचालन निवर्तमान अध्यक्ष एवं संरक्षक निर्मलकुमार खनालले गरेका थिए ।
