कनकाई खबर \ झापाको निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ५४ बँुुदे बाचापत्र (घोषणा पत्र) सार्वजनिक गरेको छ ।
पार्टीको सुरुङ्गास्थित सम्पर्क कार्यालयमा रास्वपाका उम्मेद्धार सम्भुप्रसाद ढकाल सुस्केराले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि बाचा पत्र सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत आफ्नो वाचापत्र सार्वजनिक गर्दै रास्वपाका उम्मेद्वार ढकालले हरेक पटक निर्वाचन जितेर पनि आफ्नो घोषणा पत्र अनुसार जनताको काम नगर्ने उम्मेद्धारलाई ठगि मुद्धा हालेर जेल हाल्नेकुरा उल्लेख गरेका छन । आफुले चुनाव जितेर गएमा आफ्नो पार्टी र सांसदमा समेत यस कुराको लागि कानुन संसोधन गर्ने ढकालको बाचापत्रमा उल्लेख छ । साथै वाचा पत्रमा २ पटकसम्म १० सिट सम्म नजित्ने पार्टी र १० लाख सम्म भोट नल्याउने पार्टीको दर्ता खारेजी गर्ने समेत चुनावी वाचापत्रमा उल्लेख गरेका छन् ।
निर्वाचित नेता सांसदको सम्पत्ति छानविन गर्ने र जनतामा सुशासनको प्रत्याभुति गराउने, प्रहरीले १६ बर्षमा पेन्सन सुविधा पाउने, द्धन्द्धपिडित प्रहरी र नागरिकलाई समेत उचित व्यवस्थापन गर्ने, जनमैत्री प्रहरी सेवा लगायतका कुराहरु वाचापत्रमा उल्लेख रहेको जनाइएको छ । यसैगरि जनप्रतिनिधिको मृत्यु वा राजीनामा दिएमा पुन उपनिर्वाचन नगरिकन उपबिजयी हुने उम्मेद्धारलाई स्वत जिम्मेवारी दिने कुरा समेत वाचापत्रमा उल्लेख छ । लागुऔषध कारोवारीलाई आजिवन कारागारको व्यवस्था र उनीहरुको सजाय माफि मिनाह नहुने व्यवस्था गरिने, गाउँ गाउँमा योगअभ्यास गराई यसको गुरु बनाएर विदेशमा योग अभ्यास गर्नका लागि प्रशिक्षक पठाइने समेत चुनावी बाचापत्रमा उल्लेख छ ।
यसैगरि युवालाई विना धितो ऋण उपलब्ध गराईने, माटो बचाउन विषादीरहित खेती प्रणाली अवलम्बन गरिने, विद्यार्थीहरुलाई पढदै कमाउदै गर्ने वातावरणको श्रृजना गरिने समेत बाचापत्रमा उल्लेख छ ।
यसैगरि ऐलानी जग्गाको धनीपुर्जा वितरण, सुकुम्वासी समस्याको समाधान गर्ने, कनकाई विरिङ, कमल लगायतका नदिहरुको स्थायी समाधान गरिने, यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरु दोमुखा, माईधाम, कोहीहवन, जामुनखाडीको स्तरउन्नति गरि थप पर्यटक आउने वातावरण बनाइने कुरा समेत बाचापत्रमा उल्लेख छ । यसैगरी बाचापत्रमा स्थानीय मदिरालाई ब्राण्डिङ गरि बजार ब्यवस्थापन गरिने , हात्तीको आक्रमण रोक्न विशेष पहल, कनकाई नदिको अधुरो पुल बनाइने लगायातका ५४ बुँदे बाचापत्र रास्वपा उम्मेद्धार तथा झापाका सचिव समेत रहेका ढकालले सार्वजनिक गरे ।
रास्वपा कनकाई नगर सभापति मोहन थापाको सञ्चालन तथा रास्वपाका क्षेत्रिय संयोजक लीलामाया बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा, रास्वपा झापा गाउँपालिकाका सभापति लक्ष्मण तिवारी, रास्वपा शिवसताक्षी नगर सभापति गंगाराम कडरिया लगायतको आतिथ्य रहेको बताइएको छ ।
सोही अवसरमा झापा गाउँपालिकाका युवा नेता तथा उद्योग बाणिज्य संघका अध्यक्ष सन्तोष नेपाल र अर्का नेता हरि दुलाल समेत रास्वपा प्रवेश गरेका थिए ।
