झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दिएको अभिव्यक्ति विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति लक्षित गर्दै बालेनले दिएको अभिव्यक्तिलाई निर्वाचन आचारसंहिता विपरित ठहर गर्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन्।
उजुरीमा बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा”, “आतङ्कवादी”, “देश जलाउने” जस्ता शब्दप्रति आपत्ति जनाइएको छ। ती अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको आयोगलाई बुझाइएको उजुरीमा उल्लेख छ।
यसैगरी, चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिएको भन्दै सो विषयमा समेत निर्वाचन आयोगमा छुट्टै उजुरी परेको जनाइएको छ।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार शाहका यी अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत, घृणा फैलाउने, मानमर्दन गर्ने, अपूर्ण आरोप लगाउने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने खालका छन् । कुनै प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रुपमा यस्ता गम्भीर आरोप लगाइनु स्वयंमा मानहानि, राजनैतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको उजुरीमा उल्लेख छ ।

