कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एकथान गाडी उपलव्ध गराएको छ ।
कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले प्रयोग गर्दै आएको मे. १ झ. १२२ नम्बरको रातो बोलेरो गाडी नगरपालिका परिसरमै प्रहरीलाई बोलाएर हस्तान्तरण गरिएको हो । नगरपालिका परिसरमा भएको एक संक्षिप्त कार्यक्रमका वीच नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने सहित कनकाई नगरपालिकाका जनप्रतिनिधिहरु साथै कर्मचारीहरुको समेत उपस्थितीमा नगर प्रमुख पोखरेलले प्रहरीलाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । उपप्रमुख शिवाकोटीको यातायात व्यवस्थापनका लागि अहिले तत्काललाई नगरपालिकामै भएको गाडीबाट काम चलाउँदै गर्ने नगरपालिका स्रोतले जनाएको छ ।

कनकाई नगरको वडा नं. १ देखि ७ सम्मको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर शान्ति–सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गानाले नगरपालिकाप्रति आभार व्यक्त गर्दै यस सहयोगले नागरिक सुरक्षामा थप प्रभावकारिता आउने प्रतिवद्धता जनाए ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि सुरुङ्गा प्रहरीलाई सुरक्षा चुनौती थियो । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नै प्रयोगमा रहेको गाडी प्रहरीलाई उपलब्ध गराएको हो । नागरिकको पहिलो आवश्यक्ता नै शान्ती सुरक्षा भएकाले नगर क्षेत्रको शान्ती सुरक्षा थप मजवुत बनाउँन स्थानीय सरकारले सुरक्षाकर्मीसँग सहकार्य गर्दै आएको नगर प्रमुख पोखरेलले बताए ।
अघिल्लो कार्यकालमा समेत इलाका प्रहरी कार्यालय सुरुङ्गालाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल चढ्दै आएको बोलेरो जीप उपलव्ध गराएको बताइएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि प्रहरीले लामो समयसम्म मोटरसाइकलबाटै गस्ती गर्नुपर्ने बाध्यता रहेको थियो ।
अब कनकाई नगरपालिकाले गाडी उपलव्ध गराएपछि प्रहरीको गस्ती र सेवा प्रवाह अझ प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको छ ।
