अपाङ्गता शिविरमा २३९ जनाको स्वास्थ्य परीक्षण
कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरबाट २३९ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको बताइएको छ । कनकाई नगरपालिका, करुणा फाउण्डेसन र प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको त्रिपक्षीय लागत साक्षेदारीमा संचालित शिविर कनकाई नगरपालिकाको कार्यालय परिसरमा सम्पन्न भएको हो । नगरपालिका अन्तर्गत अपाङ्गता रोगथाम तथा पुनःस्थापना कार्यक्रम संयोजक उपप्रमुख आशा शिवाकोटीको अध्यक्षतामा सम्पन्न शिविर अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर संचालन गरिएको हो ।

शिविरमा नाक, कान,घाँटी, मानसिक र आँखाको समस्या भएका सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गरिएको कनकाई नगरपालिकाकी महिला तथा वालवालिका शाखा प्रमुख तुलसा थापाले जानकारी दिएकी छन् ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी तर्फका १०१ जना, आँखा तर्फका ७४ जना र मानसिक रोगी तर्फका ६४ गरी नगर क्षेत्रका जम्मा २३९जनाले सेवा लिएका थिए भने कनकाई नगर अस्पतालको सहयोगमा जेनेरल फिजिसियनको सेवा समेत उपलव्ध भएको बताइएको छ । सबै रोगसँग सम्बन्धित बिरामीहरुलाई आवश्यक्ता अनुसार निशुल्क औषधि वितरण गरिएको थियो भने स्वास्थ्य परिक्षणपछि जटिल किसिमको समस्या पहिचान भएका विरामीलाई अस्पताल रेफर गरिएको महिला तथा वालवालिका शाखा कनकाई नगरपालिकाकी प्रमुख थापाले बताएकी छन् ।
शिविरमा नाक, कान, घाँटी तर्फ सर्जन डा.कुशेस्वर शाहले सेवा दिएका थिए भने अडियोलोजिष्ट राजु यादवको समेत सेवा उपलव्ध भएको बताइएको छ । यस विभागमा कनकाई नगरपालिकाकी स्वास्थ्यकर्मी प्रतिमा खतिवडाले आवश्यक सहयोगीको भुमिका निर्वाह गरेको बताइएको छ ।

आँखा परिक्षणका लागि दृष्टि विशेषज्ञ सन्तोष कर्ण र नेत्र सहायक कल्पना यादवले सहजीकरण गरेका थिए । शिविरमा मोतियाबिन्दु र आँखामा मासु पलाएका ८ जनाको अप्रेसन गर्नुपर्ने साथै ११ जनाको दृष्टि दोषका कारण थप उपचार गर्नु पर्ने भएकाले रेफर गरिएको दृष्टि विशेषज्ञ कर्णले जानकारी दिए । आँखाका रोगीहरुलाई आवश्यक्ता अनुसार चस्मा र औषधि निशुल्क रुपमा उपलव्ध गराएको बताइएको छ ।
मानसिक रोग विशेषज्ञ डा.सबु काफ्ले र डा.जेनी मण्डलले मानसिक स्वास्थ्य सम्बन्धिको सेवा प्रदान गरेको बताइएको छ । मानसिक रोगीहरु पुरानै समस्याका विशेष गरी अटिजम, वौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई काउन्सिलिङ गरिएको डा.जेनी मण्डलले जानकारी दिएकी छन् ।यस किसिमका वालवालिकाहरुलाई सम्बन्धित अभिभावकहरुसँगै राखेर थप सचेतनाको आवश्यक रहेको डा.मण्डलले सुझाव दिएकी छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष कार्यक्रमका वीच निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् । शिविरमा कनकाई अपाङ्गता समावेशी संघका अध्यक्ष पुष्पलाल घिमिरे, सुस्त मनःस्थिति सरोकार समाज कनकाई – १, की प्रमुख भागिरथा चापागाईँ पोखरेल सहित नगरपालिकाका १५ जना भन्दा बढीको संख्यामा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आवश्यक सहजीकरण गरेको महिला तथा वालवालिका शाखा कर्मचारी टिका खतिवडाले जानकारी दिएकी छन् । निशुल्क स्वास्थ्य शिविर समापनसँगै सम्बन्धित डाक्टरहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रम संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको अध्यक्षतामा एक संक्षिप्त कार्यक्रमका वीच प्रशंसा पत्र वितरण साथै शिविरको समिक्षा भएको बताइएको छ । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई वडा नं.६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, प्रशासन शाखा अधिकृत जमुना कटुवाल, सुचना प्रविधि अधिकृत खगेन्द्र मिश्र लगायत नगरपालिकाको विभिन्न तहका कर्मचारीहरुको आतिथ्य रहेको थियो ।
महिला तथा वालवालिका शाखा प्रमुख तुलसा थापाले संचालन गरेको औपचारिक कार्यक्रममा उपप्रमुख शिवाकोटी, डा.कुशेस्वर शाह, डा.जेनी मण्डल र दृष्टि विशेषज्ञ सन्तोष कर्णले स्वास्थ्य शिविरसँग सम्बन्धित आआफ्नो धारण राखेको बताइएको छ।


