कनकाई खबर \ झापाको सुरुङ्गामा डिभिजन बन कार्यालय झापाका प्रमुख डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठलाई एक विशेष कार्यक्रमका बीच फेरी भेटौंला कार्यक्रम मार्फत बिदाइ गरिएको छ ।
सब डिभिजन वन कार्यालय सुरुङ्गा अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूह एवं स्थानीय महासंघले सब डिभिजन वन कार्यालय परिसरमा एक विशेष कार्यक्रमका बीच फेरी भेटौला कार्यक्रम मार्फत श्रेष्ठलाई विदाइ गरिएको हो ।

सब डिभिजन बन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय झापाबाट विदाइ भएका वन अधिकृत श्रेष्ठलाई सब डिभिजन बन कार्यालय सुरूङ्गाको मातहतमा रहेका कनकाई नगर र अर्जुनधारा नगर भित्रका सबै सामुदायिक वनको तर्फबाट फुलमाला सहित मायाको चिनो प्रदान गर्दै सम्मान सहित फेरी भेटौला कार्यक्रम मार्फत बिदाइ गरिएको हो । कार्यक्रममा सबै सामुदायिक वन समूहका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको कनकाई सामुदायिक वनका अध्यक्ष ख्यामप्रसाद ओलीले जानकारी दिए ।
सोही अवसरमा जागिरे जीवनमा उच्च ओहदाको पदोन्नतिको कामना सहित जामुनबारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरी, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, जुकेखाडी सामुदायिक बन समूहका अध्यक्ष मोहन श्रेष्ठ लगायतले शाब्दीक शुभकामना सहित बिदाइका भाव राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका सब डिभिजन बन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेलले आफु भर्खरै यस किसिमको जागिरे जीवनमा प्रवेश गरेको र नयाँ जिम्मेवारीका साथ यो छोटो अवधिमा पनि डिभिजनल बन अधिकृत भरतबाबु श्रेष्ठबाट धेरै कुरा सिक्न पाएको भन्दै उहाँले आफुप्रति लगाउनु भएको गुण कहिल्यै नबिर्सने प्रतिवद्धता व्यक्त गरे ।
झापाबाट बिदाइ भएका डिभिजन बन कार्यालय झापाका प्रमुख श्रेष्ठले आफु अझ बढि समय झापामा बस्ने ईच्छा हुँदाहँदै थप जिम्मेवारी लिएर क्षेत्रीय निर्देशनालय धरान जानु पर्ने भएकाले आफु लामो समय झापामा बस्न नपाएको कुराको जानकारी गराएका थिए । छोटो समयमा आफुलाई यसरी बिदाइको कार्यक्रम राखेर केही शब्दहरू राख्न दिएकोमा श्रेष्ठले सबैलाई धन्याद दिए । कर्मचारीको पदोन्नति ढिलो आउने तर सरूवा चै छिटो आउने हँुदा आफु झापासम्म आईपुग्दा १३ औं जिल्लामा आफ्नो कर्तव्य पुरा गर्ने मौका पाइसकेकोले आफु धेरै टाढा नभई यहि क्षेत्रको जिम्मेवारीमा जान लागेकाले सबैबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै श्रेष्ठले सबैलाई धन्यवाद दिए ।
कनकाई सामुदायिक बनको पहल र सब डिभिजन बन कार्यालय लगायत दुईवटै नगरपालिका भित्रका सामुदायिक बनहरूको संयोजनमा कनकाई सब डिभिजन बन कार्यालय परिसरमा भएको कार्यक्रमको संचालन कनकाई सामुदायिक बनकी सचिव तथा सामुदायिक बन उपभोक्ता महासंघ कनकाई नगर महासंघकी अध्यक्ष मान्ता खरेलले गरेकी थिइन् ।
