कनकाई खबर \ कनकाई छठ सेवा समाजको नयाँ कार्यसमितिले पद भार ग्रहण गरेको छ ।
समाजको निर्माणाधिन अवस्थामा रहेको भवनमा भएको एक विशेष समारोहका बीच अध्यक्ष खगेन्द्र महतोको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएको कार्य समितिले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेको हो । यसरी पदभार ग्रहण गर्नेहरुमा बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र शाह , उपाध्यक्ष विरेन्द्रप्रसाद शाह, महासचिव नुतन अमात्य, सचिव भारतीयकुमारी शाह(करुणा) र कोषाध्यक्ष श्याम शाह रहेका छन् ।त्यस्तै सदस्यहरु क्रमशः सुवोध शाह, राजु शाह(निरज), रामनाथ पण्डित, बर्षा शाह, मनिषा शाह, राज कारक र रुपा ठाकुर(रुकमनी) रहेका छन् ।

नवनिर्वाचित कार्य समितिलाई संस्थाका पुर्व अध्यक्ष समेत रहेका निर्वाचन समितिका संयोजक किशनकुमार सोनीले सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिमा सोनीको संयोजकत्वमा संस्थाका पुर्व अध्यक्ष राजकिशोर चौधरी र रामप्रसाद शाह सदस्य रहेका थिए ।
कार्यसमिति चयनकालागी यस अघि असोज ३१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभामा समेत सामान्य पहल भएको भएपनि सोही समयमा केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले साधारण सभामा निर्वाचन समिति निर्माण गरी आवश्यक तयारीका साथ सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन आयुक्त किशनकुमार सोनीले जानकारी दिए ।
विधानतः १५ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा अहिले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको र बाँकी २ सदस्य आवश्यक्ता हेरेर कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक सोनीको अध्यक्षता एवं कनकाई नगरपालिका वडा नं.३ का कार्यबाहक वडाअध्यक्ष अनिल गोयलको प्रमुख आतिथ्य रहेको सपथ ग्रहण तथा पद हस्तान्तरण सहित प्रमाण पत्र वितरणको कार्यक्रममा सहभागीहरुले छठ समाजको सफल नेतृत्वका कारण पछिल्लो समय छठ पर्व सबै जातजातीहरुको साझा पर्वका रुपमा विकास हुँदै आएको बताए ।
समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले सहजीकरण गरेको औपचारिक कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै अग्रज सल्लाहकारहरु जगतनारायण मण्डल, नवलकिशोर दत्त लगायतले कनकाई छठ सेवा समाजको इतिहासका बारेमा चर्चा गरेका थिए । सामान्य छठ पुजाका नाममा सुरुवात भएको छठ समाज वर्तमान अवस्थामा यस क्षेत्रकै एक सक्रिय सामाजिक संस्थाका रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनीहरुले कनकाई छठ सेवा समाजको थप सफलताको कामना गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गोयलले नगर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै कनकाई छठ सेवा समाजले समाज रुपान्तरणकालागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कनकाई नगर क्षेत्रमा रहेका सवै जातजातीहरुको साझा पर्वका रुपमा छठ पर्वलाई व्यवस्थित गर्दै कनकाई छठ सेवा समाजले निर्माण प्रारम्भ गरेको सूर्यनारायणको मन्दिर सहितको कनकाई सूर्यबाटिका सामुदायिक भवन यो समाजकै गहना हुने ठहर गर्दै प्रमुख अतिथी गोयलले निर्माण कार्य सम्पन्न गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक पहल गर्न सहजीकरण गर्ने समेत प्रतिवद्धता जनाए ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष खगेन्द्र महतोले आगामी दिनमा छठ समाजलाई एक ढिक्का बनाएर एकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । छठ समाजले हाल सम्म आर्जन गरेको प्रतिष्ठालाई जोगाएर स्थानीय स्तरमा अन्य सामाजिक संघसंस्थाहरुको तुलनामा एक अब्बल संस्थाको रुपमा पहिचान बनाउँन आफ्नो नेतृत्वमा रहेको समिति हरपल सक्रिय रहने नवनिर्वाचित अध्यक्ष महतोले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विजयकुमार शर्माले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य साथै संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकार समिति एवं सहयोगी शुभचिन्तकहरुबाट प्राप्त सकारात्मक सल्लाह सुझाव र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको भन्दै सबैप्रति आभार प्रकट गरे ।
