कनकाई/ झापाको मध्य भागमा रहेको धार्मिक तथा पर्यटकीय सुन्दर नगरी कनकाईबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक प्रकाशनको आठौं वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै कनकाई खबरका सम्पादक एवं प्रकाशक रामप्रसाद निरौलाले संघर्षपूर्ण चुनौतीहरु पार गर्दै आठौं वर्षमा प्रवेश गरेको यो सुखद अवसर केवल संस्थाको प्रगति मात्र नभएर स्थानीय पत्रकारिताको निरन्तरता र जनविश्वासको प्रतीक पनि भएको बताएका छन् ।
२०७४ मा जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछिको अवस्थामा स्थानीय स्तरका गतिविधिलाई संचारको माध्यमबाट तत्काल सार्वजनिक गर्नु पर्ने आवश्यक्ताको महसुश गर्दै २०७५बाट साप्ताहिकको रुपमा कनकाई खबरको सुरुवात भएको सम्पादक निरौलाले बताएका छन् ।
कनकाई खबर साप्ताहिक आजको अवस्थासम्म आइपुग्दा डिजिटल रुपमा कनकाई खबर डटकम अनलाइन, बार्षिक रुपमा कनकाई खबर म्यागेजिन साथै वार्षिक क्यालेण्डर प्रकाशन हुँदै आउनु भनेको सञ्चार गृह थप सफल बनेको सम्पादक निरौलाले दावी गरेका छन् ।
विभिन्न संचार माध्यममा आवद्ध भइ विगत १७ वर्षदेखी पत्रकारीतामा क्रियाशिल रहेका कनकाई खबरका सम्पादक एवं प्रकाशक निरौलाले पत्रिकाको सफलतासँग सम्पूर्ण पाठक, विज्ञापनदाता, स्थानीय बौद्धिक व्यक्तित्वहरु, लेखक, सहयोगी एवं शुभेच्छुकहरुको भावना जोडिएको बताएका छन् ।
स्थापना कालदेखि नै स्थानीय स्तरका समसामयिक विषय, जनजीवनका विविध पक्ष र सामाजिक सरोकारलाई प्राथमिकतामा राख्दै अघि बढेको यस साप्ताहिकले पत्रकारिताको धर्म र दायित्वलाई निरन्तर अँगाल्दै आएको बताइएको छ ।
यस अवसरमा सम्पादक निरौलाले आजको पत्रकारिता केवल घटनाको विवरण दिने माध्यम मात्र नभइ घटनाको पृष्ठभूमि, प्रभाव र समाधानको खोजीमा केन्द्रित हुनुपर्ने तर्फ जोड दिएका छन् । चुनौतीहरूसँगै अवसरहरू अझ गहिरो रुपमा भएको भन्दै निरौलाले यही विश्वासका साथ कनकाई खबर साप्ताहिकले आठौं वर्षमा प्रवेश गर्दै पत्रकारिताको धर्म र दायित्वलाई अझ मजबुतीका साथ अँगाल्ने प्रण गरेको बताएका छन् ।