कनकाई खबर \ झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । असोज ३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा असोज ९ गतेसम्म भएको थियो । कार्यक्रममा संस्थाले शव्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पत्रकार उद्धव पुरी सहित ९२ जनालाई सम्मान गरेको बताइएको छ । सम्मानित हुने यति धेरै सदस्यहरुमा संस्थाको ४६ वटा सेवा केन्द्रबाट क्रमशः एकजना उत्कृष्ट बचत कर्ता र एकजना उत्कृष्ट ऋणी गरी ९२ जनालाई सम्मान गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाले गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताए । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको साथै संस्थामा हाल ६९ हजार बढी सेयर सदस्य रहेको बताइएको छ ।
संस्थाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको साथै संस्थाका सदस्यहरूलाई स्वास्थ्य उपचार, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको जनाइएको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आव २०८१÷ ०८२ मा ४२ जना शेयर सदस्यको ४८ लाख २३ हजार २१५ रुपैयाँ ऋण मिनाह गरिएको जानकारी दिए ।
त्यस्तै, २०८२ असार समान्तसम्म संस्थाको शेयर पुँजी २ करोड १२ लाख ४८ हजार ६ सय बृद्धि भई ३५ करोड ९ लाख १५ हजार ५ सय पुगेको छ भने बचत रकम २ अर्ब १५ करोड २५ लाख ८४ हजार ५८३, ऋण लगानी २ अर्ब ८० करोड ४७ लाख ८६ हजार ३७८ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
झापामा २५ वटा, इलाममा ११, मोरङमा ९ र पाँचथरमा एउटा गरी ४६ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको सिम्रिकको स्थिर सम्पत्ति ६ करोड ६६ लाख ६१ हजार ९६२ रुपैयाँ रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०८२ \ ०८३ का लागि १२ अर्ब ४२ करोड ६५ लाख १३ हजार १७५ रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम तय गरेको जनाइएको छ ।