कनकाई खबर \ कनकाई नगर बाल संजालले ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरभित्रका सम्पूर्ण बालबालिका, अभिभावक, शैक्षिक संस्था, सरोकारवाला निकाय तथा नगरवासीहरूमा शुभकामना व्यक्त गर्दै यस वर्ष औपचारिक उत्सव नगरी श्रद्धाञ्जलीमुखी कार्यक्रम गर्न आग्रह गरेको छ।
संजालले जारी गरेको विज्ञप्तिमा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारालाई आत्मसात गर्दै बालबालिकालाई समाजको आधारस्तम्भ र राष्ट्रको दिगो भविष्य निर्माणका धरोहरका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ। साथै बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुनिश्चितताका लागि सबै तह र स्तरका निकायहरूको सहकार्य र प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख छ। नेपालले सन् १९९० सेप्टेम्बर १४ मा संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि अनुमोदन गरेको स्मरण गर्दै २०५१ सालदेखि प्रत्येक भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। पछिल्ला वर्षमा शिक्षा, स्वास्थ्य र बाल अधिकार क्षेत्रमा सुधार भए पनि अझै धेरै चुनौती बाँकी रहेको संजालले जनाएको छ।
यसैबीच कनकाई नगरपालिका २०८२ साल बैशाख २५ गते नेपाल सरकारले तोकेको ५१ सूचक र नगरपालिकाले थप दुई सूचकसहित ५३ वटा सूचक पूरा गर्दै बालमैत्री नगरपालिका घोषणा भएको थियो। यस उपलब्धिसँगै कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको हो। राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा जेन्-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै नगर बाल संजालले कनकाई नगरका वडास्तरीय बाल संजाल, विद्यालय तथा टोलस्तरीय बाल क्लब र शैक्षिक संस्थाहरूसमेतलाई श्रद्धाञ्जली, शोकसभा लगायतका कार्यक्रम गर्न अनुरोध गरेको छ। कनकाई नगर बाल संजालका सचिव रिजन तिम्सिना ले जारी गरेको विज्ञप्तिमा औपचारिक कार्यक्रम नगरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न सबैलाई आग्रह गरिएको हो ।
