कनकाई खबर \ जेनजी (युवा पुस्ता)को आन्दोलनले एकै दिनमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिका कारण त्रसित बनेको स्थानीय समुदायले अब सुरक्षा जिम्मा आफैं लिन थालेका छन् ।
कनकाई उद्योग वाणिज्य संघको अगुवाइमा सामाजिक संघसंस्थाहरू र कनकाई स्काउटका मास्टरहरूको सहकार्यमा चोकबजार तथा गाउँगाउँमा बेलुकी ८ बजेदेखि १२ बजेसम्म गस्ती टोली स्वतः स्फुर्त रुपमा परिचालित छ । त्यसपछिको समयमा समेत पालो गरेर गस्ती गर्ने काम भइरहेको संघका कोषाध्यक्ष एवं सुन चाँदी व्यवसायी टिकाराम बरालले जानकारी दिए ।

स्थानीय युवाहरूको सक्रियता र एकताले समुदायमा सुरक्षा र विश्वासको भावना पुनः जागृत गरिरहेको बताइएको छ । गस्ती टोलीले शान्ति कायम राख्न, आपराधिक गतिविधिमा अंकुश लगाउन तथा नागरिकलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गराउन महत्वपूर्ण भूमिका खेलेको टोलीका संयोजक एवं कनकाई उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीले जानकारी दिए ।
सुरुङ्गास्थित ईलाका प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी भएपछि प्रहरीको समेत सुरक्षा व्यवस्था नभएका कारण हाल ईलाका प्रहरी कार्यालयमा प्रहरी समेत नभएको अवस्थाले स्थानीय स्तरको सुरक्षा चुनौती बढेर गएका कारण स्थानीयबासीले बजार क्षेत्रका व्यवसायीहरुको समेत हितका लागि गस्ती टोली नै बनाएर गस्ती गर्न थालेको संयोजक कार्की बताउँछन् । रात्रीकालिन गस्ती टोलीमा कनकाई स्काउटरको तर्फबाट स्काउट शिक्षक अरुण नेपालको नेतृत्वमा टोली क्रियाशिल रहेको बताइएको छ ।

गस्ती टोलीको संयोजकमा संघका कार्यबाहक अध्यक्ष कार्की र सदस्यहरुमा क्रमशः कनकाई उद्योग वाणिज्य संघ, कनकाई सुनचाँदी व्यवसायी संघ, कनकाई होटल व्यवसायी संघ साथै स्थानीय व्यवसायी एवं सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहने गरेको संघका महासचिव सरोज सिटौलाले जानकारी दिए । बजार क्षेत्रमा हाल रात्रीकालिन सुरक्षा गार्ड समेत नभएको साथै केही दिनदेखी नेपाल प्रहरीको टोली पनि नभएकाले बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको स्थानीय व्यवसायी बताउँछन् ।
स्रोतका अनुसार सुरुङ्गास्थित ईलाका प्रहरी कार्यालयमा हाल मर्मतको काम भइरहेकाले चाँडै साविक संख्याका सुरक्षाकर्मी आएर सेवा दिने विश्वास गरिएको छ । पछिल्लो समयको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कनकाई नगर क्षेत्रका सबै बजार साथै ग्रामिण क्षेत्रमा समेत सोही क्षेत्रका युवाहरुबाट रात्रीकालिन गस्ती संचालन भइरहेको बुझिएको छ ।