समिर आलम,
युएई \ युएईको नेपाली समुदायमा सक्रिय सामाजिक संस्थाको रूपमा स्थापित झापाली समाज युएईको अध्यक्षमा लोकेश कोइराला चयन भएका छन् ।
झापाली समाज युएईको स्थापनाकालदेखि सामाजिक योगदान गरिरहेका दमक स्थायी घर भएका कोइराला अबुधाबीको एक कम्पनीमा म्यानेजरका रूपमा बिगत १५ वर्षदेखि कार्यरत छन् । सहयोगी तथा मिलनसार व्यक्तित्वको छवि बनाएका कोइराला झापाली समाज युएईको गत १७ अगस्ट २०२५ मा दुबई स्थित श्री राज लस्सी क्याप्टेरियाको हलमा आयोजित पाँचौ अधिवेशनले आगामी कार्यकाल (२०२५–२०२६) को लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् \

यसैगरी उपाध्यक्षमा रत्न सापकोटा र बिष्णुमाया दंगाल चयन भएका छन् । महासचिवमा रामकुमार राउत, सचिवमा भुपेन्द्र आचार्य(कान्छो) र भरत बुढाथोकी सर्वसम्मत नियुक्त भएका छन् । केन्द्रीय कोषाध्यक्षमा प्रेम अधिकारी र सहकोषाध्यक्षमा काशीनाथ ढकालले निरन्तरता पाएका छन् ।
अधिवेशनबाट केन्द्रीय सदस्यमा कनकाई खबरका युएई प्रतिनिधि इसाक आलम (समिर) नियुक्त भएका छन् । प्रथम उपाध्यक्ष लगायत केही केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको पहिलो पुर्ण बैठकले नियुक्त गर्ने नवनियुक्त अध्यक्ष कोइरालाले बताएका छन् ।
झापाली समाज युएईका सामाजिक गतिविधिहरुको प्रशंसा गर्दै प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले अन्य समाजहरुले झापाली समाज युएईको सिको गर्नुपर्ने बताए । उनले युएईको नेपाली सामाजिक परिवेशमा झापालीहरुले धेरै उदाहरणीय कामहरु गरेको र त्यसका लागि समाजले निर्माण गरेको बृत्तचित्र हाम्रो दायित्व हेर्न सुझाव दिएका छन् ।
झापाली समाज युएईले पाँचौ अधिवेशनलाई मितव्ययी बनाउदै त्यसबाट बचत भएको ५ सय दिराम नेपाली समाज युएईको राहत तथा उद्वार कोषमा सहयोग गरेकोमा प्रमुख अतिथि मोक्तानले यो उदाहरणीय काम भएको र यसले एक जना पीडित नेपालीले नेपाल फर्कन टिकट खर्च पुग्ने दाबी गरेका छन् ।
अधिवेशनमा बिशेष अतिथिका रूपमा उपस्थित नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाले झापाली समाज युएईका हरेक सामाजिक कामहरु प्रेरणादायी भएको जानकारी दिए ।
अधिवेशनमा विशेष अतिथि नेपाली समाज युएईका पुर्व अध्यक्ष बेदप्रसाद अर्यालले झापाली समाज युएईले कुनै पनि कामहरु स्मार्ट तरिकाले सम्पन्न गर्ने बताउदै नेपाली समाज युएई र झापाली समाज युएई बीच उल्लेखनीय सहकार्य भएको स्मरण गराएका छन् ।
झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, पुर्व केन्द्रीय सदस्य प्रेम गौतम, सल्लाहकार खगेन्द्र कटुवाल लगायत समाजका अबुधाबी सुर्यबहादुर खबास, दुबई अध्यक्ष इबनारायण तिवारी, सारजहा अध्यक्ष बिष्णु प्रसाईं, राक अध्यक्ष केशब कार्की सहित प्रतिनिधिहरु उपस्थित भएर अधिवेशन सफल पारेको बताइएको छ ।
अतिथिका रूपमा उपस्थित प्रवासी नेपाली समन्वय बिभाग युएई अध्यक्ष सुजन थापाले युएईमा झापाली समाज युएईको विशेष पहिचान भएको बताउदै आर्थिक, साङगठनिक र रचनात्मक क्रियाकलापमा झापाली समाज अब्बल रहेको प्रष्ट पारेका छन् ।
अधिवेशन सफलताको लागि पिएनएस्बी युएईका राहात तथा उद्वार संयोजक कृष्ण खतिवडा, कोच राजबंशी प्रबासी समाज युएईका अध्यक्ष दुबल राजबंशी, ताप्लेजुङ्ग समाज सेवा युएई अध्यक्ष लोकेन्द्र पालंलुवा, नुवाकोट सेवा समाज युएई अध्यक्ष नवीन कार्की, पथरी शनिश्चरे समाज युएईका बलराम कुइकेल, पर्वत समाज युएई अध्यक्ष तिलक साप्कोटा, कानुन विज्ञ प्रल्हाद पाठक, सामाजिक अभियन्ता नवराज पाण्डे (फुलेबुढा), व्यावसायी तथा समाजसेवी व्यक्तित्व प्रेमराज ढकाल, अर्घाखाँची सम्पर्क समिति युएई अध्यक्ष जेपी पोख्रेल, सामाजिक अभियन्ता ताप्लेजुङकी सोनी भण्डारी उपस्थित भएर झापाली समाज युएईका सामाजिक कामहरुको चर्चा गर्दै निवर्तमान अध्यक्ष अमरराज राईको कार्यकाल अत्यन्तै सफल भएकोमा आभार व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिएका थिए ।
नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाले बन्द सत्रको अध्यक्ष मण्डलको नेतृत्व गर्दै नवनिर्वाचित केन्द्रीय समितिलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । निर्वाचन मण्डलमा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल र कोच राजवंशी समाज युएईका अध्यक्ष दुबल राजवंशी सहभागी भएर कार्य सम्पादन गरेका थिए ।
अधिवेशनमा कोषाध्यक्ष प्रेम अधिकारीले नेपाल र युएईमा समाजको नाममा रहेको रकमको विवरण पेस गरेका थिए । अधिकारीको रिपोर्ट अनुसार समाजको नाममा करिब ३० लाख नेपाली रुपैयाँ नेपालका (क) र (ख) वर्गका बैंकमा साधारण वचत तथा अधिक रकम मुद्दतिमा जम्मा गरिएको छ ।
समाजका संस्थापक परिकल्पनाकार ढुंगेलले उक्त कोषबाट झापाका सबै पालिकाका १÷१ जना गरी १५ जना कक्षा १ देखि १० सम्म अध्ययन गर्ने नियमित रूपमा झापाली समाज युएईको नेपाल सम्पर्क समितिले छात्रवृत्ति प्रदान गरिरहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा सामाजिक संस्थाको रूपमा दर्ता भएको झापाली समाज युएईले झापामा कार्यालय समेत संचालन गरिरहेको छ । करिब ५ सय जना आजीवन सदस्य रहेको यस समाजले हरेक वर्षको जाडो महिनामा विभिन्न सामुदायिक स्कुलमा न्यानो कपडाहरु एक्सल डेभलपमेन्ट बैंक लगायत विभिन्न सामाजिक संस्थाहरुसँग मिलेर वितरण गर्दै आएको छ ।
युएइमा रोजगारी गरिरहेका झापालीहरुको सहयोगको लागि स्थापना भएको यो समाजले आफ्नो क्षेत्र बिस्तार गर्दै झापाको शैक्षिक तथा भौतिक बिकास गर्दै सहजीकरण गर्ने योजना लिएको नवनिर्वाचित अध्यक्ष लोकेस कोइरालाले बताएका छन् ।