कनकाई खबर \ कनकाईको सुरुङ्गामा शहीद डिल्ली गौतमको ३१औं स्मृति दिवस भव्य रूपमा सम्पन्न भएको छ ।

शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ औं स्मृति दिवसको अवसर पारेर २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल कनकाईका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी एवम् विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य एवं नगर उपप्रमुख आशा शिवाकोटीको विशेष आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका बीच विद्यार्थी र विद्यालयलाई पुरस्कृत एवम् सम्मान गरिएको हो ।

यसरी सम्मानित एवं पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालय कनकाई माविबाट ३.८६ जिपिए प्राप्त गर्ने रोहन सुवेदी, प्रतीक तिवारी र प्रकृति न्यौपाने तथा निजी विद्यालय तर्फ झापा मेरिगोल्डकी ३.९२ जिपिए प्राप्त गर्ने अंकिता खनाललाई नगद सहित सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान पत्र सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै सामुदायिक विद्यालय तर्फ सिंहदेवि माद्यमिक विद्यालयले ८४.६ प्रतिशत विद्यार्थी पास गराउँन सफल भएको भन्दै विद्यालयलाई पुरस्कृत गरिएको छ । निजीतर्फ कनकाई ३ स्थित ग्लोबल एडुकेयर एकाडेमी, कनकाई ८ स्थित पाथीभरा एकाडेमी, कनकाई ७ स्थित फक्ताङलुङ्ग एजुकेशन फाउन्डेसन र कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी विद्यालयले सतप्रतिशत विद्यार्थी पास गर्न सफल भएको भन्दै विद्यालयका प्रधानध्यापक तथा प्रिन्सिपलहरुलाई सम्मान पत्र दोसल्ला सहित फुलमाला र अबिर लगाएर सम्मान गरिएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका नगर प्रमुख पोखरेलले समाज रुपान्तरणका लागि सामाजिक एकता अपरिहार्य रहेको बताए । शहीद डिल्ली गौतमको व्यक्तित्वका बारेमा चर्चा गर्दै नगर प्रमुख पोखरेलले अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा वि.सं. २०५०, साउन ४ गतेका दिन शहादत हुन पुगेका शहिद गौतम अत्यन्तै लगनशील र मेहनेती भएको स्मरण गरेका थिए । उनले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवं विद्यालयको सम्मानले शहीद स्मृति दिवसमा अब केवल श्रद्धाञ्जलि मात्र होइन, शिक्षा र प्रेरणाको उत्सव पनि बन्नु पर्ने तर्फ सन्देश दिएको बताइएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख आशा शिवाकोटीले शहीदको सपना साकार पार्ने कार्यमा शिक्षाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने तर्फ जोड दिएकी छन् । उपप्रमुख शिवाककोटीले डिल्ली गौतम स्मृति प्रतिष्ठानले एसईईमा उत्कृष्ट अंक ल्याउने नगर क्षेत्रका सामुदायिक एवं संस्थागत तर्फका विद्यार्थी तथा विद्यालयलाई गरेको सम्मानको कार्यक्रम आँफैमा पवित्र रहेको बताएकी छन् । शैक्षिक क्षेत्रको रुपान्तरणसँगै संस्कार सहितको शिक्षाले मात्रै शहिदको सपना साकार पार्न सक्ने भएकाले यस तर्फ सबैको ध्यान जानुपर्ने आवश्यक्ता रहेको उपप्रमुख शिवाकोटीले जोड दिएकी छन् ।
शहिद गौतमकी माता पुण्यवती र पत्नी देवका गौतम लगायत परिवारजनले गरेको धैर्यधारणप्रति उच्च सम्मान गर्दै नगर प्रमुख पोखरेल, उपप्रमुख शिवाकोटीले शहीद गौतमप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । यस किसिमको कार्यक्रमले शहीदको योगदानलाई थप उजागर गर्दै नागरिकमा देशप्रेम र समर्पणको भाव जागृत गराउने तर्फ जोड दिइएको थियो ।
कार्यक्रममा सहभागीहरुले शहीद गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै देश र जनताको हितमा गरेको बलिदानलाई गहिरो सम्मानको रूपमा स्मरण गरेका छन् । शहीदको सपना साकार पार्नको लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताइएको छ ।
स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पुरस्कृत हुने विद्यार्थीका तर्फबाट कनकाई माद्यमिक विद्यालयकी छात्रा प्रकृति न्यौपाने ,झापा मेरिगोल्ड अंग्रेजÞी विद्यालयकी छात्रा अंकिता खनाल, सम्मानित विद्यालयका तर्फबाट सिंहदेवी माद्यमिक विद्यालयका प्रधानाध्यापक भोलानाथ ढुङ्गेल, पाथीभरा एकाडेमी कनकाई ८ का प्रिन्सिपल श्रीकान्त थापा , रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका निवर्तमान सभापति बालकृष्ण प्रसाईं, नेकपा माओवादीका नगर सचिव तेजबहादुर आचार्य लगायतले स्मृति दिवसमा प्रतिष्ठानले शिक्षा क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै शिक्षा क्षेत्रको सुधारमा पछिल्लो समय नगरपालिकाबाट पनि धेरै सहयोग पुगेको भन्दै यसलाई अझ तिव्रता दिन आग्रह गरिएको थियोे ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भएको थियो । हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलन चर्किएको थियो । सोही समयमा पार्टीको आयोजनामा झापाको दमकमा स्वतस्फुर्त निस्किएको मजदुरहरुको जुलुश अगाडि बढिरहेको बेला प्रहरीले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गरेका थिए ।
यसरी देश र जनताका निम्ति आफ्नो ज्यानको बलिदान दिने शहिद गौतमको स्मृतिमा सामाजिक गतिविधि संचालन गर्न कनकाईमा वि.सं.२०७५ मा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष वार्षिक रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिए । अध्यक्ष लम्सालले यस अघि पनि शिक्षा क्षेत्र अन्तर्गत न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण, विद्यालयमा वृहत् स्वास्थ्य शिविर ,वृक्षारोपण , विभिन्न स्थानमा सरसफाई सहित डस्विन वितरण लगायत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, शहीद गौतमकी माता पुण्यवती गौतम र पत्नी देवका गौतम लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष तोयानाथ अधिकारीले शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गरेका थिए ।
