कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८२ \ ०८३ सुरु हुनु अघि नै बजेट पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभा हलमा एक विशेष समारोहका बीच कोशी प्रदेशका खानेपानी, सिँचांई तथा उर्जामन्त्री एकराज कार्कीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम समेटिएको बजेट पुस्तिका सार्वजनिक गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा रहेका प्रदेश मन्त्री कार्कीले कनकाई नगरपालिकाले बजेट पुस्तिका समयमै प्रकाशन गरी सार्वजनिक गर्नु झापामै उदाहरणीय कार्य भएको बताएका छन् ।

बजेट सहितको नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गर्ने झापाकै पहिलो नगरपालिका कनकाई भएको भन्दै मन्त्री कार्कीले खुलेर प्रशंसा गरे । उनले कतिपय पालिकाहरुले अझै पनि आगामी आर्थिक वर्षको बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकिरहेको अवस्थामा कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षको पुस्तक नै प्रकाशन गरेर उदाहरणीय कार्य गरेको भन्दै यसबाट अन्य पालिकाहरुले समेत शिक्षा लिनु पर्ने बताए ।
प्रदेश मन्त्री कार्कीले देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भ्रमलाई चिर्दै अघि बढ्नु पर्ने आजको आवश्यक्ता रहेको तर्फ जोड दिँदै एकै पटक चन्द्रमा छुने सपना देख्नु आफैंमा ठूलो कमजोरी भएको टिप्पणी गरे । सकारात्मक दृष्टि लगाउँने हो भने पछिल्लो समय दुईवटा मुख्य राजनीतिक दलको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेको विकास गतिविधि आफैंँमा उदाहरणीय रहेको भन्दै प्रदेश मन्त्री कार्कीले देशमा आशाको संचार प्रवाह भइरहेको बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरको आर्थिक वर्ष २०८२ \०८३ को बजेट सहितको नीति तथा कार्यक्रम नगरकी उप–प्रमुख आशा शिवाकोटीले प्रस्तुत गरेकी थिइन् । उप–प्रमुख शिवाकोटीले आर्थिक वर्ष २०८१ \०८२ मा भएका कार्यक्रमको समिक्षात्मक जानकारी दिँदै आर्थिक वर्ष २०८२ \०८३ को बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उपप्रमुख शिवाकोटीले आगामी आर्थिक वर्षका लागि ७० करोड ६९ लाख २५ हजार १०१ रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । यस अघि असार १० गते सम्पन्न नगरपालिकाको १८ औं नगर सभाको पहिलो बैठकबाट आ.व.२०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भई पारित भएको थियो ।

सभाको अध्यक्षता गरिरहेका नगर प्रमुख पोखरेलले न्युनतम साधन स्रोतलाई अधिकतम क्षेत्रमा उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताएका छन् । आन्तरिक स्रोतसाधनको समेत भरपुर सदुपयोग गर्ने प्रयास गरिरहेको कनकाई नगरपालिकाले नगर क्षेत्रका वडाहरुको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजेट बिनियोजन गरेको सभामा जानकारी गराए ।
नगर प्रमुख पोखरेलले अघिल्ला बर्षका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक बर्षमा कार्यविधि बनाएर थप नयाँ कार्यक्रम गर्ने बताएका छन् । उनले यस बर्ष ६०० घरधुरीलाई स्वास्थ्य बीमा गराएको जानकारी दिँदै आगामी बर्ष एक हजार तीन सय घरधुरीलाई स्वास्थ्य बीमा गराउने बताएका छन् । उनले त्यस्तै कार्यविधि बनाएर मृत्यु संस्कार सहयोग गरिने, नगरका बिपन्न बर्गका नागरिकका लागि सहज रुपमा खानेपानीको पहुँच पुर्याउन सौलियत गराउने, घरघरमै अक्सिजन ग्यास उपलब्ध गराउने साथै सहयोग गर्नेका लागि अक्षयकोषको स्थापना लगायतका कार्यक्रम गर्ने बताए ।
आर्थिक वर्ष २०८२ \०८३ को बजेट नीति तथा कार्यक्रममा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण, राजश्व बाँडफाँट, विशेष अनुदान, विभिन्न संघ संस्था तथा दातृ निकायबाट अनुदान तथा ऋण र नगरको आन्तरिक श्रोतबाट समेत प्राप्त हुने अनुमानित (चालु तथा पूँजीगत समेत ) गरी बजेट तर्जुमा भएको बताइएको छ ।

कूल बजेटको सीमा भित्र रही जेष्ठ नागरिकहरु तथा तोकिएका अन्य समूह र वर्गले सामाजिक सुरक्षा भत्ताबापत प्राप्त हुने रकम सोही कानुन बमोजिम नै खर्च हुने भएकाले उक्त भत्ता बापत अनुमानित रकम रु.३० करोड यस बजेट कार्यक्रममा समावेश नभएको उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् ।
आ.व. २०८२\ ०८३ मा आर्थिक विकास तर्फ जम्मा रु.२ करोड ७१ लाख ८०हजार, सामाजिक विकास तर्फ जम्मा रु.५ करोड ५६ लाख ५५हजार , पुर्वाधार विकास तर्फ जम्मा रु.९ करोड २६ लाख, संस्थागत विकास तथा सुसासन तर्फ जम्मा रु.२० करोड७० लाख ५५हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ जम्मा रु.३२ करोड४४ लाख ३५हजार १०१ गरी बजेटमा अनुमानित व्यय विवरण प्रस्तुत गरिएको छ ।

बजेटको कार्यान्वयनबाट नगरको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो उपलब्धी हासिल हुने साथै पूर्वाधार विकास , संस्थागत विकास तथा शुसासन, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ भएको प्रगतिले कनकाई नगरको समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नगरमा रहेका प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै श्रम,शक्ति र पुँजीको अधिकतम उपयोग गरी गरिवी न्यूनिकरण गर्ने कार्यलाई बजेटको मुख्य उद्येश्यका रुपमा लिएको छ । त्यस्तै संघ तथा प्रदेश सरकार र अन्य निकायबाट प्राप्त अनुदान र सहयोगलाई नागरिकको आवश्यकता परिपूर्ति गर्ने कार्यमा लगानी गरी प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षतिलाई रोकथाम तथा नियन्त्रण गर्न र नागरिकहरुको जीउ, धनको सुरक्षा गर्नु बजेटको उद्येश्य रहेको बताइएको छ ।
कृषि र पशुपालन जस्ता उत्पादनशिल क्षेत्रलाई उच्चतम परिचालन गरी गुणस्तरीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै समतामूलक आर्थिक विकासको आधार तयार गर्नु र स्थानीय उत्पादनलाई निर्यातसँग आबद्ध गर्नु बजेटको उद्येश्य रहेको पाइन्छ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा खानेपानीको सुनिश्चिता गर्दै सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणमा बजेटले जोड दिएको छ । यसका साथै गुणस्तरीय पूर्वाधारको विकाससँगै समृद्धिको आधार तयार गरी स्थानीयस्तरमा नै रोजगारीको सृजना गर्नु बजेटको महत्वपूर्ण उद्येश्य रहेको बताइएको छ । नगरलाई समय सापेक्षरुपमा प्रविधिको भरपुर उपयोग गरी प्रविधीलाई सुशासनमा जोड्दै नगरले अवलम्बन गरेको “सम्मुनत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार” भन्ने नारालाई आत्मसात गर्ने कार्यलाई बजेटको मुख्य उद्येश्यका रुपमा लिएको छ ।
कार्यक्रमकै अवसरमा फोटो पत्रकार विकास उप्रेती सहित विभिन्न क्षेत्रका १६ जना उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत एवं सम्मान गरिएको छ । यसरी पुरस्कृत एवं सम्मानित हुनेहरुमा नगरका उत्कृष्ट करदाताका रुपमा प्रफुल्ल पोखरेल, कुमारमणि पोखरेल र कमलबहादुर चापागाईँ, उत्कृष्ट कृषक तर्फ विष्णु टुडु र पशुपालक कृषक तर्फ प्रेमकुमार बस्नेत रहेका छन् ।

त्यस्तै एसईईमा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रोहन सुवेदी, प्रनिता तिवारी र प्रकृति न्यौपाने रहेका छन् भने संस्थागत बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने अंकिता खनाललाई समेत पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृष्ट उपभोक्ता समितिका रुपमा कनकाई वडा नं.९बाट दुर्गा मन्दिर निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृष्ट निर्माण ब्यवसायी तर्फ बिशाल पाठक र सुनिल बुढाथोकी, उत्कृष्ट खेलाडीका रुपमा क्रिकेट तर्फ कनकाई ३ निवासी रोमा थापा रहेका छन् । उत्कृष्ट नगरका कर्मचारी तर्फ क्रमशःआशिष घिमिरे, सुदिक्षा निरौला, मनिष चौहान, रोजीला कार्की र गंगा विष्ट रहेका छन् ।
कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै नगरको सुशासन एवं आर्थिक पारदर्शितालाई चुस्त एवं दुरुस्त राख्ने कार्यमा कुनै कन्चुस्याइँ नगर्ने प्रतिवद्धता जनाए । न्यौपानेले आगामी साउनदेखि कात्तिक मसान्तसम्ममा नगरका योजनाहरुको सबै ठेक्कापट्टाको सम्झौता गरिसक्ने साथै पुस मसान्त भित्र उपभोक्ता समितिबाट गरिने कामको सम्झौता गरिसक्ने कार्यतालिका तय गरेको जानकारी दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट उत्कृष्ट करदाता कुमारमणि पोखरेल, उत्कृष्ट खेलाडी रोमा थापा, कृषक विष्णु टुडु लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगरका कर्मचारी रुपा बस्नेत र हेमकुमारी गेलाल (देवी) ले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन नगरकी योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन् ।
