कनकाई खबर \ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन ।

पाँचदशक लामो समयदेखि बसोबास गर्दै आएका कनकाई नगरका भूमिहीन दलित एवं सुकुम्बासीले लालपूर्जा प्राप्त गरेसँगै परिवारमा खुशी छाएको छ /
कनकाई उद्योग वाणिज्य संघको सभा हलमा एक विशेष समारोहका बीच सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान आयोग जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पालिकाका दुईसय बढी लक्षित समुदायले आफ्नो जोतभोगका आधारमा धनीपुर्जा प्राप्त गरेका हुन् ।

लालपूर्जा प्राप्त गर्ने मध्येका कनकाई ३ निबासी ८० वर्षिय सुर्यबहादुर शाही ठकुरी अत्यन्तै खुशी देखिन्थे । श्रीमती कृष्णकुमारी ठकुरीसहित धनिपुर्जा लिनका लागि कार्यक्रमस्थल पुगेका ठकुरी २०३७ सालदेखि बसोबास गर्दै आएको बताउँछन् । हालसम्म आफुले आर्जन गर्दै आएको ३ कठ्ठा १० धुर जमिनको अब मात्र मालिक हून पाएको भन्दै ठकुरीले खुशी व्यक्त गरे ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै सदनबाटै पारित गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिइ ठुला ठुला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठुलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठुलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।
“यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।” उनले भने ।

अहिलेको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न दुईवटा मुख्य राजनीतिक दलको संयुक्त सरकार बनेको भन्दै प्रधानमन्त्री ओलीले युवा अवस्थामा आफुले खेल्ने गरेको कनकाईको सुरूङ्गादेखी तुलसीबारी हुँदै चप्रामारी सम्म पुग्दाको बाटोको अवस्था र हालको अवस्थाका बारेमा सबैलाई स्मरण गराएका थिए ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले चाँडो भन्दा चाँडो कानुन संसोधन गरेर भएपनि कनकाई लगायत देशभरीका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनीपुर्जा प्राप्त गर्न सक्नु पर्ने धारणा राखे ।
नगरप्रमुख पोखरेलले करिव ५० वर्षदेखि धनीपुर्जाको पर्खाइमा रहेका कनकाईबासीले धनीपुर्जा पाउने क्रम यस अघिदेखी नै सुरु भएको बताए । विसं. २०४८ सालमा आफू जनप्रतिनिधि हुँदादेखि धनीपुर्जा वितरण गर्ने कार्यमा लागेको नगर प्रमुख पोखरेलको भनाई छ । कनकाई नगर क्षेत्रमा करिब सात हजार घर परिवार धनीपुर्जाको पर्खाइमा रहेको भन्दै नगर प्रमुख पोखरेलले सबैको जग्गाको नापनक्सा र आवश्यक सबै प्रक्रिया पूरा भएकाले सबैलाई धनीपुर्जा दिन सकिनेगरीको तयारीमा नगरपालिका रहेको जानकारी दिए ।
यस पटक नगरका २ सय आठ जनामध्ये प्रधानमन्त्री ओलीले पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेर शुभारम्भ गरे । कार्यक्रममा धनीपुर्जा प्राप्त गर्ने कनकाई–३ का जगतबहादुर वाग्लेले धनीपुर्जा पाएकोमा खुसी व्यक्त गरे । कनकाई नगरपालिकाले यसअघि नगरका १ सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकेको छ । यस पटक कनकाई–३ मा एक सय २७ जना, वडा नम्बर ६ मा ८० जना र वडा नम्बर ८ मा एक जना सुकुम्बासीले जग्गा धनीपुर्जा प्राप्त गर्ने बताइएको छ ।
