कनकाई खबर / झापाको कनकाई नगरमा ११ औं अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइएको छ ।
पुर्वकै पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा वृक्षरोपण सहित योगका विभिन्न गतिविधि प्रस्तुत गर्दै अन्तराष्ट्रिय योग दिवस मनाइएको हो । “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यसवर्षको नारा अनुसार योग एक समग्र विश्वव्यापी दृष्टिकोण भएको र विश्वभरका नागरिकहरु स्वस्थ रहुन् भन्ने उद्येश्यका साथ योग अभ्यास विश्वव्यापी बन्दै गएको बताइएको छ /

पतञ्जलि योग कनकाई नगर समितिका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता एवं झापा क्षेत्र नं.४ (ख)का प्रदेश सभा सदस्य साथै पुर्व मन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रमका अवसरमा वन क्षेत्रमा फुलका विरुवा साथै वनको मृगस्थलीमा विभिन्न जातका घाँस रोपेर योग दिवस भव्य रुपमा मनाइएको हो । दश विगाहा भन्दा बढी क्षेत्रफल रहेको मृगस्थलीको क्षेत्रमा तारजाली गरिएको करिव २ विगाहा वन क्षेत्रमा विभिन्न जातका डाले घाँस रोपेको बताइएको छ । कार्यक्रममा नगर क्षेत्रमा रहेका विभिन्न साधना केन्द्रका साधकहरु सहित योग गुरुहरु, सामुदायिक वन समूहका कार्यसमिति, उपभोक्ता गरी सयौंको संख्यामा उपस्थिती रहेको बताइएको छ ।
विश्वब्यापी रुपमा फैलिएको योगलाई नेपालमा समेत अत्यन्तै महत्वका साथ अन्तराष्ट्रिय योग दिवस बाहेक प्रत्येक वर्ष माघ महिनाको १ गते राष्ट्रिय योग दिवस समेत मनाउने गरेको बताइएको छ । जुन अहिले एउटा राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य सिटौलाले योग केवल अभ्यासमात्र नभएर व्यक्तिको सर्वाङ्गीण विकास गराउने माध्यम पनि भएको बताए । विश्वभर अहिले योग भनेको शरीर मात्र होइन कि मन मस्तिष्क सफा गर्ने माध्यम, आध्यात्मिक चिन्तन गर्ने, शान्तिका लागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थ भइ जीवनयापन गर्न सकिने महत्वपूर्ण माध्यम सावित भइसकेको प्रमुख अतिथी सिटौलाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कनकाईको वडा नं.२ का वडाअध्यक्ष बलराम राई, पतन्जलि योग जिल्ला समिति झापाका महासचिव रुद्र ओली , जामुनबारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरी, पतन्जलि योग समिति झापाका सदस्य टिकाप्रसाद कट्टेल लगायतले शरीर एक मन्दिर भएकाले यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ जुन योगबाट प्राप्त हुने ठोकुवा गरे ।

कार्यक्रमकै अवसरमा केही महिना अघि हरिद्वार गएर दिक्षित भइ आएका महिला पतन्जलि योग कनकाई नगर समितिका दुईजना पदाधिकारी तथा सदस्यहरु साथै भर्खरै महिला पतन्जलि योग समिति झापाको महासचिवमा सर्वसम्मत चयन भएकी सुरुङ्गा निवासी निर्मला कोइरालालाई स्वागत सम्मान गरिएको महिला पतन्जलि योग कनकाई नगर अध्यक्ष गोमा निरौला ढुङ्गेलले बताएकी छन् । कार्यक्रममा अतिथीहरुलाई मनोरन्जन समेत प्रदान गर्ने उद्येश्यले आयोजक समितिका तर्फबाट सर्वाङ्ग सुन्दर व्यायाम सहित अन्य केही व्यायाम प्रस्तुत गरिएको थियो ।

महिला पतन्जलि योग कनकाई नगर समितिकी महासचिव सुष्मा पराजुलीले सहभागीहरुलाई स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पादै पतन्जलि योग कनकाई नगर समितिका अध्यक्ष रामप्रसाद निरौलाले चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त बाटो नै योग भएको बताए । अध्यक्ष निरौलाले सामाजिक एकता, आध्यात्मिक विकास, मानसिक कल्याण र शारीरिक स्वास्थ्यको पूर्णताको लागि मानव जीवनमा योग अतिआवश्यक बन्दै गएकोले यस तर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।
पतन्जलि योग कनकाई नगर समितिले स्थानीय सरकारसँगको सहकार्यमा पछिल्लो समय नगरका हरेक वडामा खुल्ला योग शिविर सम्पन्न गर्दै साधना केन्द्र निर्माण गरी मानव जीवनका लागि अत्यावश्यक ध्यान सहितको योगअभ्यासलाई निरन्तरता दिएको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन पतन्जलि योग कनकाई नगर समितिका महासचिव शिवकुमार गिरीले गरेका थिए ।
