कनकाई खबर \ झापाको विर्तामोडमा कोशी प्रदेश स्तरीय वृहत विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ ।
एक विशेष समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीको उद्घाटन गरेकी हुन ।उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्युत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले वैज्ञानिक दृष्टिकोणबाट समृद्धि हासिल गर्न सकिने बताएकी छन् । भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएकाले अबको शिक्षा प्राविधिमैत्री हुनु जरुरी रहेको बताएकी छन् ।
प्रदर्शनीमा १२ जिल्लाका ५० बढी विद्यालय प्रतियोगीका रुपमा सहभागी भएको आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार शनिबार पहिलो दिन १२ जिल्लाका विद्यालयले प्रतियोगीका रुपमा दर्ता गराएका छन् । जसमा अन्य केही स्टलहरु प्रतिस्पर्धामा नरहेको समेत बताइएको छ ।भण्डारीले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थी तथा शिक्षकहरुमा बधाई ज्ञापन गरिन् । उनले राजनीतिक दलले यस किसिमका कार्यक्रम आयोजना गरेर फरक उदाहरण प्रस्तुत गरेको बताइन् ।
प्रदर्शनीको उद्घाटन समारोहमा देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, नेकपा एमाले कोशी प्रदेश इन्चार्ज एवम् पुर्व मुख्यमन्त्री शेरधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश समितिको आयोजना एवं मदन भण्डारी फाउण्डेशन झापा सहआयोजक रहेको तीन दिवसीय प्रतियोगिताको निर्णायकमा त्रिभुवन विश्व विद्यालय विज्ञान विभागका प्राध्यापक, नाष्टका प्रतिनिधि तथा विज्ञान शिक्षक समाजका प्रतिनिधि साथै शिक्षक रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
मदन भण्डारी फाउण्ेडेसन झापाका सचिव शिव ढुङ्गेलले संचालन गरेको कार्यक्रममा स्वागत विभाग कोशी प्रदेश सचिव राजकुमार भण्डारी तथा अध्यक्षता विभाग प्रदेश प्रमुख पोखरेलले गरेका थिए । हालसम्म १२५ स्टल रहेको प्रदर्शनी विर्तामोड–५, स्थित देवी माविको प्राङ्गणमा जारी छ । प्रदर्शनीमा पहिलो हुनेले ४ लाख, दोस्रोले ३, तेस्रोले २ लाख तथा चौथो स्थान हासिल गर्नेले १ लाख नगद प्राप्त गर्नेछ ।
त्यस्तै उत्कृष्ट २५ विद्यालयलाई नगद २५ हजारका दरले पुरस्कृत गरिने आयोजकले बताएको छ ।
