कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा वनस्पती प्रदर्शनीसँगै वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर वनसमुहको सभाहलमा प्रतियोगितात्मक वनस्पती प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ मुलुकका विभिन्न ठाउँमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यसै अवसरमा कनकाई वडा नं.२ स्थित डाँडागाउँ टोल विकास संस्था एवं जामुनखाडी योग साधना केन्द्रको संयुक्त आयोजनामा प्रतियोगितात्मक वनस्पती प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक संस्थाले अघिल्लो वर्षको वातावरण दिवसकै अवसर पारेर स्थानीयबासीलाई एकसय वटा गमला वितरण गरेको थियो । त्यसबेलाको सर्तअनुसार गमला प्राप्त गर्ने प्रत्येक व्यक्तिले आँफूले लिएको गमलामा आकर्षक फुल रोपेर त्यसको संरक्षण गरी एक वर्षपछि प्रतियोगिका रुपमा फुलसहितको गमला लिएर कार्यक्रममा उपस्थित भएका हुन् । फुल सहितको गमला लिएर सहभागी भएका १८ जना बालबालिका मध्ये प्रथम सेली श्रेष्ठ, दोस्रो मौसम भारती र तेस्रो स्थानमा सृष्टि भारती भएकी छन् । अमिसा रिजाल र प्रिन्सा तामाङ सान्त्वना भएका छन् । प्रतियोगीहरुलाई हौसला स्वरुप प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको आयोजक संस्था जामुनखाडी योग साधना केन्द्रका संयोजक शिवकुमार गिरीले जानकारी दिए । प्रतियोगितामा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको बताइएको छ ।

डाँडागाउँ टोल विकास संस्थाका संयोजक अर्जुन रिजालको अध्यक्षता एवं कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राईको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा निर्णायक मण्डलीको भुमिकामा पतञ्जलि योग नगर समिति कनकाईका अध्यक्ष रामप्रसाद निरौला, जामुनबारी टोल विकास संस्थाकी संयोजक मुना गिरी र जामुनखाडी योग साधना केन्द्रकी सदस्य पुनम कडरीया लिम्बूले सहजीकरण गरेको जनाइएको छ ।
जामुनखाडी योगसाधना केन्द्रका संयोजक शिवकुमार गिरीले संचालन गरेको औपचारिक कार्यक्रममा कार्यपालिका सदस्य नरादेवी मगर,जामुनबारी सामुदायिक वन समुहकी उपाध्यक्ष रेणुका खबास लगायत वन समूहका अन्य पदाधिकारी तथा सदस्यहरु, योग शिक्षकहरु सहित विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बताइएको छ ।

वातावरण दिवसकै अवसर पारेर कनकाई नगर क्षेत्रका विभिन्न ठाउँमा वृक्षरोपण गरिएको छ । सुरुङ्गा जेसीज एवं डि.पि.एल.कनकाईको संयुक्त आयोजनामा जामुनखाडी सिमसार परिसरमा वृक्षरोपण भएको सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधानले जानकारी दिए । त्यस्तै कनकाई सामुदायिक वन उपभोक्ता समुहले समेत सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरेको जनाइएको छ । वन समुहको आयोजना , सामुदायिक वन उपभोक्ता समुह नेपाल कनकाई नगर महासंघको सहआयोजना एवं कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाको प्राविधिक सहयोगमा वन परिसरमा वृक्षरोपण गरिएको हो ।

दिवसकै अवसर पारेर एक संक्षिप्त कार्यक्रमका बीच वन परिसरमा विरुवा रोप्न सुरु गरीएको र आगामी दिनमा यस कार्यलाई तीन महिनासम्म निरन्तरता दिने कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली बताउँछन् । यस बर्ष रुख कटान गरिएको ठाउँमा चारहजार विरुवा रोप्ने लक्ष्य रहेको र वृक्षरोपणमा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी तथा कर्मचारी साथै संघसंस्थाहरुको समेत सहभागीता रहेको वन समूहकी सचिव मान्ता काफ्ले खरेलले जानकारी दिएकी छन् ।
यस वर्ष रुख कटान गरिएको ठाउँमा ४ हजार विरुवा रोप्ने लक्ष्य रहेको र वृक्षरोपणमा यहाँका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारी साथै संघसंस्थाहरुको समेत सहभागीता रहने अध्यक्ष ओलीले जानकारी दिए ।

