काठमाडौं \ सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान चलाएको छ । केही दिन अघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा ‘म एमालेको झोले हुँ, यस देशको झोले हुँ, परिवर्तनको झोले हुँ’ भनेका थिए, जसलाई एमाले नेताहरुले अहिले सेयर गरिरहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफूलाई ‘झोले’को रूपमा चित्रण गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा दुई हात जोडेको आफ्नो तस्बिरमा लेखिएको छ ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो ।’
पोस्टर सेयर गर्दै ओलीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु प¥यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा पनि आफू ‘झोले’ भएको स्पष्ट रूपमा बताएका थिए। गत जेठ १७ गते काठमाडौंको टोखामा सुरु भएको एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उनले भनेका थिए, ‘म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यतिभन्दा बढी एमाले विरोधीहरूलाई चित्त बुझ्ला कि? म यो झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेर हिँड्छु । मलाई गर्व छ ।’
ओलीले ‘म झोले हो’ को तस्बिर सार्वजनिक गरेसँगै एमालेका अधिकांश शीर्ष नेतासहित नेता कार्यकर्ता र समर्थकले यस्तै खालको पोस्टर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतले आफ्नो तस्बिर राख्दै पोस्ट सेयर गरिरहेका छन् ।